कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन्।
कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ क्षेत्र नम्बर १ मा पार्टीका तर्फबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गरे।
पार्टीमा हुन सक्ने असन्तुष्टिलाई थाती राखेर एकढिक्का भएर लागे विजय सम्भव रहेको महामन्त्री शर्माको भनाइ थियो। महामन्त्री शर्माले आर्थिक विषयमा समेत ज्ञान भएको नेतृत्व संसद्लाई आवश्यक रहेको भन्दै भट्टराईको जित अनिवार्य भएको दाबी गरे।
पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गठबन्धनका दल एकजुट रहेको बताए।
उम्मेदवार भट्टराईको राजनीतिमा धेरै लामो योगदान, त्याग भएको, तर अवसर नपाएको नेता भएकाले उपनिर्वाचनमा विजय गराएर न्याय गर्नुपर्ने भण्डारीले बताए। सो अवसरमा केन्द्रीय सदस्य ध्रुव वाग्ले, पार्टी सभापति जितप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेललगायतले गत निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसले विजय हासिल गरेकाले उक्त विजयलाई कायम राख्नुपर्नेमा जोड दिए।