अर्थतन्त्र सुधार्न सम्पूर्ण शक्ति लगाएर काम गरिरहेका छौँ : प्रधानमन्त्री

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन्। मंगलबार उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले बैंक ब्याजदर कम गर्ने र राजस्व संकलनलाई बढाउनेबारे सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताए। 

सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै उनले आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताए।

उनले सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि बताए। उनले सरकारले राजस्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी चलायमान बनाउने भन्नेबारे जोड दिइरहेको बताए। 

प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताए। 

उनले भने, ‘झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति हामीसँग छ। रेमिट्यान्समा पनि राम्रो सुधार छ, राजस्व संकलन डेढ अर्बभन्दा अघि बढ्दै छ, त्यसमा पनि सकारात्मक संकेत देखिएका छन्। हामी बैंक ब्याजदर कम गर्ने र राजस्व संकलनलाई बढाउनेबारे सरकारका सबै अंगसँग घनीभूत छलफलमा छौँ।’ 

प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए। कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद भएको बताउँदै उनले आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको दोहोर्याए। 

सुझावित समाचार