तिब्बतीयनलाई नागरिकता प्रकरण : नागरिकतामै हस्ताक्षर गर्ने कर्मचारीलाई जोगाइयो

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

पक्राउ परेका दुवै शरणार्थीको नागरिकतामा प्रशासकीय अधिकृत लेखनाथ खतिवडाको हस्ताक्षर, तर अभियोगबाट उनलाई उन्मुक्ति 

आर्थिक चलखेलका आधारमा तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको घटनामा नागरिकतामै हस्ताक्षर गर्ने कर्मचारीलाई समेत प्रहरीले जोगाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएकोमा जिल्ला प्रशासनका कर्मचारीलाई उन्मुक्तिको सिफारिस गरिएको छ । 

नेपाली नागरिकता लिने दुई तिब्बतीयन शरणार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका नायब सुब्बा देवराज गौतमसमेत छन् । थप कर्मचारीको संलग्नता बयानबाट नखुलेको भन्दै अरूतर्फ अनुसन्धान भएको छ । 

प्रहरीले लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, हिरालाल सिवाकोटी, नक्कली बाबु बनेका न्युल्केश श्रेष्ठ र तनहुँको शरणार्थी क्याम्पमा बस्दै आएका लोब्साङ ठिन्लेलाई ५ चैतमा पक्राउ गरेको थियो । नासु गौतमलाई १७ चैतमा तथा नागरिकता लिने शरणार्थी निमा ल्हामो गुरुङलाई २३ चैतमा पक्राउ गरेको थियो । नासु गौतमले आफ्नै संलग्नता अस्वीकार गरेका आधारमा उनीमाथि माथिल्ला कर्मचारीतर्फ विस्तृत अनुसन्धान गरिएको छैन । 

पक्राउ परेका दुवै शरणार्थीको नागरिकतामा प्रशासकीय अधिकृत लेखनाथ खतिवडाले हस्ताक्षर गरेका छन् । तर, अभियोगबाट उनलाई उन्मुक्ति दिइएको छ । नासु गौतमलाई भने पक्राउ परेका बिचौलियाले नाम किटान गरेकाले उनलाई मुद्दा चलाउनुपर्ने राय छ । पक्राउ परेका ६ र अर्का एक सर्वसाधारणलाई फरार प्रतिवादीका रूपमा मुद्दा अघि बढाएको छ । गृहकै दबाबका कारण यसरी कर्मचारीलाई जोगाइएको प्रहरी स्रोत बताउँछ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा एउटा नागरिकतामा पाँच लाख रुपैयाँसम्मको लेनदेन भएको उल्लेख छ । बिचौलियाहरूले नासु गौतममार्फत सिडिओ कार्यालयमा सेटिङ मिलाएको बयान दिएका थिए । नागरिकता दिँदा पनि एकै व्यक्ति पाँचजनाको बाबु बनेर उपस्थित हुँदा पनि कर्मचारीले त्यसमा मतलब गरेका थिएनन् । 

अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीले आफूहरूले यसमा संलग्नलाई पक्राउ गरी जिल्ला परिसरमा बुझाइएको र अनुसन्धान प्रगतिबारे जानकारी नभएको बताउँछन् । 

गृह मन्त्रालय मौन 
हाल दुईवटा नागरिकताको मुद्दा प्रक्रिया अघि बढेकोमा थप नागरिकताउपर छानबिन चलिरहेकै छ । हाल प्रहरीले ३० वटा शंकास्पद नागरिकतामाथि अनुसन्धान गरिरहेको छ । पक्राउ परेका बिचौलियाले करिब पाँच सयप्रति नागरिकता त्यसरी दिइसकेको बताएका छन् । 

यसरी कर्मचारीकै मिलेमतोमा देशको राजधानीबाटै शरणार्थीलाई नागरिकता दिएको विषय बाहिर आउँदा पनि गृह मन्त्रालयले भने त्यसमा चासो दिएको छैन । न त त्यस विषयमा आन्तरिक छानबिनमै चासो दिइएको छ न त कारबाही नै । कतिसम्म भने, त्यससम्बन्धी कागजपत्र लुकाउन सक्ने कर्मचारीलाई समेत जिम्मेवारीबाट हटाइएको छैन । जसकारण, यो प्रकरण प्रभावित बनेको छ । 

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत अहिले आफूहरू प्रहरीको अनुसन्धानलाई नै सघाइरहेको र मन्त्रालयबाट कुनै छानबिन नभएको बताउँछन् । ‘हामीले अहिले प्रहरी अनुसन्धानलाई नै सघाएका छौँ, छुट्टै छानबिन गरेका छैनौँ,’ उनी भन्छन्, ‘आवश्यक पर्यो भने छानबिन गर्छाैँ ।’

सुझावित समाचार