संघीय र स्थानीय सरकारबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?
तीनै तहका सरकारका काम, कर्तव्य र अधिकारबारे संविधानमै प्रस्ट व्यवस्था गरिएको छ । तीनै तहका सरकार सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा अघि बढ्नुपर्छ । हरेक तहका सरकारले संविधानले प्रदान गरेका एकल अधिकार एक्लै प्रयोग गर्न पाउँछन् । तर, कतिपय साझा अधिकार भने आपसी समन्वयमा कार्यान्वयन गर्नुपर्छ । नागरिकको अपेक्षा भनेको विकास, समृद्धि, सुशासन र शान्ति नै हो । यसका लागि तीनै तहका सरकारले आपसमा मिलेर काम गर्न सक्नुपर्छ ।
काठमाडौं महानगर र संघीय सरकारबीच दूरी बढ्दै गएजस्तो देखिन्छ नि ?
कैयौँ अधिकार कार्यान्वयनमा स्थानीय सरकार स्वायत्त भए पनि संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरका मेयरले केन्द्रसँगको समन्वय र सहकार्यलाई ध्यान दिनुपर्छ । केन्द्रलाई पनि महानगरले हामीसित समन्वय गरेन, हामीलाई चासो दिएन भन्ने परेको हुन सक्छ । महानगरलाई पनि केन्द्रले सहयोग गरेन भन्ने परेको हुन सक्छ । यसरी दुई भिन्न तहका सरकारबीच दूरी या विश्वासको संकट बढ्नु दुःखद छ ।
यसले जनतामा संघीयताप्रति नै निराशा बढ्ने खतरा कति देख्नुहुन्छ ?
यस्ता विवाद विगतका एकात्मक राज्यव्यवस्थामा पनि हुन्थे । जिविस, स्थानीय तह, जिल्ला आदिका तहमा एकअर्काबीच यस्ता विवाद भइरहन्थे । अहिले पनि भएको त्यही हो । यसमा आपसी संवादबाट समाधान निकाल्नुपर्छ । यसले व्यवस्थामाथि नै निराशा बढाइहाल्छ भन्नचाहिँ सकिन्न ।