जिल्ला समन्वय समिति संखुवासभाको चौथो जिल्ला सभा तथा आर्थिक वर्ष ०७८-७९ को वार्षिक प्रगति समीक्षा बैठक आजदेखि सदरमुकाम खाँदबारीमा सुरु भएको छ ।
आज आइतबार एक कार्यक्रमबीच उक्त बैठकको पूर्वप्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, वर्तमान प्रदेश सभा सदस्य राजेन्द्र कार्कीलगायतका नेताहरूले पानसमा बत्ती बालेर उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र गौतमले संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै जिल्ला समन्वय समितिले कार्यकारी अधिकार पाएन, तत्कालै दिइहालौँ भन्ने अवस्था नरहेको बताए ।
प्रदेश सांसद राजेन्द्र कार्कीले जिल्ला समन्वय समितिलाई अझै भूमिका दिएर कार्यकारी बनाउनुपर्ने धारणा राखे । प्रदेश सांसद विदुर लिङथेपले कोसी प्रदेश नामकरण भइसकेकाले अब तत्कालै परिवर्तन गर्न नसकिने जिकिर गरे । उनले संविधान संशोधन गरेर मात्रै प्रदेशको नाम परिवर्तन गर्न सकिने बताए।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जिससलाई अधिकार नदिएको गुनासो गरेका थिए । कार्यक्रममा पूर्वप्रदेश सांसद सरिता थापा खड्का, प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव, हिमालय क्याम्पसका प्रमुख डा. मातृका तिम्सिना, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र जनप्रतिनिधिहरूले मन्तव्य राखेका थिए ।
उद्घाटन सत्रपछि जिल्लाभरका सरकारी कार्यालय प्रमुखले आआफ्नो कार्यक्रमको प्रगतिबारेमा प्रस्तुतीकरण गरेका थिए । बाँकी कार्यालयले भोलि (सोमबार) प्रस्तुति गर्ने जिल्ला समन्वय अधिकारी युवराज आचार्यले जानकारी दिए ।
कार्यक्रममा संखुवासभाका १० वटा स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, अन्य संघ र प्रदेश सरकारअन्तर्गतका सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका पदाधिकारीहरू, जनप्रतिनिधि नागरिक समाज, पत्रकारको सहभागिता रहेको छ ।
पुस्तक विमोचन
चौथो जिल्ला सभाकै क्रममा जिसस सदस्य देउमान याम्फू राईले लेखेको पुस्तक ‘नारी उत्पीडन तथा पौराणिक युगीन काला धब्बाहरू’ विमोचन गरिएको थियो ।
पूर्वप्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, प्रदेश सभा सदस्यहरू राजेन्द्र कार्की, विदुर लिङथेपलगायतले पुस्तक विमोचन गरे ।

तीन भाग, १६० पेजको पुस्तकभित्र ३१ वटा शीर्षकमा लेख समावेश गरिएको छ । २५ वर्ष शिक्षण पेसामा बिताएका राई हाल राजनीतिमा आबद्ध छन् ।