प्रेरक प्रसंग : अशिष्टताबाट शिक्षा

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

एकजना वैद्य आफ्ना ज्ञानका कारण प्रसिद्ध थिए । उनीकहाँ पुर्याइसकेपछि बिरामीको जीवनरक्षा हुनेमा धेरैको विश्वास थियो । उनी बिरामीलाई दिने औषधिका साथै उनको अमूल्य सल्लाहको लागि पनि समाजमा निकै प्रसिद्ध थिए । 

उनी जति कुशल चिकित्सक थिए, उति नै राम्रो मन भएका मानिस पनि थिए । एकपटकको कुरा हो, ती वैद्यका एकजना चिर–परिचित मित्रले उनलाई सोधे, ‘वैद्यजी, तपाईंजति शिष्ट, सभ्य र मिठो बोल्ने मानिस यो संसारमा सायदै कोही होला । त्यसैले म यो थाहा पाउन चाहन्छु कि तपाईंले यस्तो अमूल्य शिष्टता र सभ्यता कहाँबाट कसरी सिक्नुभयो ?’ ती मित्रको जिज्ञासा सुन्नासाथ ती वैद्यले जवाफ दिए, ‘अशिष्ट र असभ्य मानिसबाट ।’ 

वैद्यको यस्तो अनपेक्षित जवाफ सुनेपछि ती मित्र केही झस्किए । वैद्यको गम्भीर जवाफको ती मित्रले पटक्कै भेउ पाउन सकेनन् । त्यसैले उनले अप्ठ्यारो मान्दै फेरि प्रश्न गरे, ‘यो कसरी हुन सक्छ ? एउटा अशिष्ट एवं असभ्य मानिसले कसरी अरूलाई केही सिकाउन सक्छ ? त्यस्तो मानिसबाट कुनै मानिसले कसरी सभ्यता र शिष्टताको पाठ सिक्न सक्छ ?’

‘साँच्चै सोध्छौ भने यो तिमीले बुझ्न सक्दैनौ । मैले त असभ्य र अशिष्ट मानिसबाटै यो शिक्षा लिएको हुँ । उनीहरूको जुन–जुन कुरा मलाई नराम्रो लाग्यो, त्यो मैले तुरुन्तै फ्याँकिदिएँ, त्यसलाई एकछिन पनि नजिक आउनै दिइनँ । किनकि, मैले सोचेँ, जुन कुरा मलाई नराम्रो लाग्यो, त्यो अरूलाई पनि त नराम्रो लाग्न सक्छ । राम्रो यही हुनेछ कि जस्तो व्यवहार तिमी अरूले आफूलाई गरून् भन्ने चाहन्छौ, त्यस्तै व्यवहार तिमीले पनि अरूसँग गर । किनकि, तिम्रो व्यवहार तिम्रो जीवनको दर्पण हो । तिमी जस्तो व्यवहार गर्छौ, अरूबाट पनि त्यस्तै व्यवहार पाउँछौ ।’

यसरी अशिष्ट र असभ्य मानिसबाट सभ्यता र शिष्टताको पाठ सिक्ने यी वैद्य प्रख्यात लुकमान थिए । जोसँग सम्बन्धित एउटा भनाइ निकै लोकप्रिय छ, ‘शंकाको उपचार त वैद्य लुकमानसँग पनि थिएन ।’

सुझावित समाचार