ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् । गएराति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयमा ज्यानै जाने डरले भागाभाग भएको थियो ।
नक्सा पास नै नगरी र आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घर समेत भासिएको स्थानीयको भनाइ छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न माग गरेका छन् ।
सो निर्माणाधिन अपार्टमेन्ट वरपरका एक तलाजति घरहरु भासिएका छन् । डेरा गरेर बस्नेहरु सबै भागेका र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताए ।
अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको स्थानीयको दावी छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबासविहिन बनाउने पक्षलाई तत्काल कारबाही गर्न उनीहरुको माग छ ।