कार्यहीन, विचारहीन सरकारका सय दिन : सांसद पन्त

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धिहीन रहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरू सार्वजनिक गरेको, तर त्यसमा कुनै पनि कुरा महत्वपूर्ण नपाएको बताए। उनले सरकारका सय दिनका प्राथमिकतामा किसानका समस्या, आर्थिक अवस्थाका समस्या नपरेको बताए। उनले सय दिनसम्म मन्त्रिपरिषद्समेत गठन गर्न नसक्ने सरकारसँग जनताले कुनै आस राख्न नसक्ने बताए। सरकार कार्यहीन, विचारहीन रहेको आरोप लगाए। 

उनले भने, ‘सरकार गठन भएको सय दिन पुगेछ । गोरखापत्रको दुई पेजमा सरकारले गरेका काम भनेर ३७ बुँदाहरू राखिएछ। एउटा बुँदा छुटेछ । त्यो के भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि यता नेपालका अस्पतालमा कति बालबालिका जन्मे, त्यसको उल्लेख भएनछ, कति पानी परेकाे छ, कति घाम लाग्यो त्यो पनि उल्लेख भएनछ। त्यो भएको भए बालबच्चाको संख्या आउँथ्यो । ३७ बुँदा पढ्दा के पढेको बुझिँदैन । यो सरकार अहिलेसम्म सय दिन पुग्दा मन्त्रिपरिषद् त गठन गर्न सकेको छैन, अरू के आस गर्नु ? जनता आशावादी नहुनु स्वाभाविक छ । यो विचारहीन, कार्यहीन सरकार हो । त्यसैले सरकारको आलोचना गर्दा कोही तात्तिनुपर्दैन। जनतालाई कुने सेवा नदिने अनि कराएर हुन्छ, सरकार उपलब्धिहीन छ।’

सांसद पन्तले दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएकोबारे सरकारसँग प्रश्न गरे। उनले एनसिएललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल गर्न लागिएको बताए। अर्बौँ–अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानुन फेरेर सरकारको स्वामित्वमा नल्याउने षड्यन्त्र रचिएको उनको आरोप थियो। 
 

सुझावित समाचार