लक्ष्मणले चन्द्रकलालाई हराए

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

मधेस प्रदेशका लक्ष्मण राईले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार ५१ केजी तौलमा नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापालाई हराएका छन् ।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा बागमती प्रदेशका रविन थापाले लुम्बिनी प्रदेशका भरत पुनमगरलाई हराए ।

एपिएफ क्लबका आस तामाङले सुदूरपश्चिम प्रदेशका चिरञ्जीवी खड्कालाई पराजित गरेका छन् । कोसी प्रदेशका फुङलाङ काम्वाङले गण्डकी प्रदेशका रुकी गुरुङमाथि जित निकालेका छन् ।

पुरुष ६३ केजीमा कोसीका बलबहादुर पुनले लुम्बिनीका नेत्रबहादुर थापालाई पाखा लगाए । पुरुष ६१ केजीमा मधेसका शशि शाक्यले कर्णाली प्रदेशका देवेन्द्र थापालाई पन्छाए । प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । भारतको नयाँदिल्लीमा भएको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर इतिहास रचेकी अन्जनी तेलीलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा सात प्रदेश, प्रहरी र एपिएफबाट १०८ खेलाडी सहभागी छन् । पुरुष र महिलामा समान ६ स्पर्धा समावेश छन् । हरेक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले ७५ सय रुपैयाँ पाउनेछन् । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

See More On

सुझावित समाचार