नवप्रवर्तन साझेदारी कोषबाट सूर्योदयमा निर्माणाधीन परियोजनाको अनुगमन

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत कोसी प्रदेशस्थित प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाइसँगको सहकार्यमार्फत कार्यान्वयन भइरहेको परियोजनाको अनुगमन गरेका छन् ।

मंगलबार इलामको सूर्योदय नगरपालिकामा प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाइ र नगरपालिकाबीच नवप्रवर्तन साझेदारी कोषबाट कार्यान्वयन भइरहेको परियोजनाको उनले अनुगमन गरेका हुन् । मन्त्री मोदीले नगरपालिकाको कन्याममा निर्माणाधीन डुँडेगैरा–पूर्णेडाँडा साइक्लिङ ट्रयाकअन्तर्गत वडा नम्बर ६ स्थित कन्याम डुँडेगैरा, कन्याम भञ्ज्याङको पर्यटकीयस्थल, वडा नम्बर ८ स्थित मानेडाँडामा निर्माणाधीन सिसाको पुलको अनुगमन गरे । अनुगमनकै क्रममा उनले वडा नम्बर ८ स्थित सामुदायिक होमस्टे निर्माणको सम्भाव्यता अध्ययनको सन्दर्भमा स्थानीयसँग अन्तर्क्रियासमेत गरे । 

१० करोड ८१ लाखको कुल लागत साझेदारीमा निर्माणाधीन कन्यामको डुँडेगैरा–पूर्णेडाँडा साइक्लिङ ट्रयाकले निर्माणसँगै स्थानीयको आर्थिक जीवनस्तर उकास्ने र लोपोन्मुख लेप्चा जनजातिको ऐतिहासिक र सांस्कृतिक पक्षहरूको संरक्षणको लक्ष्य परियोजनाले राखेको छ ।

नगरपालिकाको १४ मध्ये ६ वटा वडामा यो परियोजनाअन्तर्गत काम भइरहेको छ । अनुगमनको क्रममा मन्त्री मोदीले निर्माणाधीन परियोजनाका काम समयमै सम्पन्न गर्न निर्देशन दिए । कामको गुणस्तरीयताको नियमित रूपमा अनुगमन गर्न पनि मातहतका कार्यालय प्रमुखलाई उनले निर्देशन दिए ।

यस परियोजनाअन्तर्गत कोसी प्रदेशमा १० वटा परियोजना सञ्चालन भइरहेका छन् । परियोजनाअन्तर्गत देशभर ५७ वटा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भूपेन्द्र सापकोटाले जानकारी दिए । 

सुझावित समाचार