पाकिस्तानी आर्थिक संकटको जिम्मेवार को ?

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

खराब पाकिस्तानी अर्थतन्त्रको जिम्मा लिन कोही तयार छैन, कसैले विरोधीलाई यसको जड भन्छन् भने कसैले सत्तालाई सत्तोसराप गर्छन् 

श्रीलंकापछि पाकिस्तान यतिवेला गम्भीर आर्थिक संकटको दलदलमा फसिरहेको छ । त्यहाँका नागरिकलाई साँझ–बिहानको जोहो गर्नसमेत मुस्किल पर्ने स्थिति आएको छ । पाकिस्तानको वर्तमान आर्थिक संकटको असर त्यहाँका हरेक वर्गका मान्छेमाथि परेको छ । बिग्रँदो अर्थतन्त्रको जिम्मेवार राजनीतिक संकट रहेको त्यहाँका नागरिकको आरोप छ । त्यसो भए के नेताले बिग्रँदो अर्थतन्त्रको दोष आफैँलाई दिन्छन् होला त ?

जिम्मेवार को ? : खासमा खराब पाकिस्तानी अर्थतन्त्रको जिम्मा लिन कोही तयार छैनन् । कसैले विरोधीलाई यो समस्याको जड भन्छन् भने कसैले सत्तालाई सत्तोसराप गर्छन् । कतै–कतै घुमाउरो पारामा न्यायालयको विषय पनि आउँछ । यी सबै परिस्थितिका बीच पाकिस्तानको पेसावरमा आयात–निर्यातको काम गर्ने अय्युब जकोडी भन्छन्, ‘जनताको बेहाल भयो ।’ उनका अनुसार आयातमा आधारित अर्थतन्त्र हुँदा पनि यतिवेला पाकिस्तानसँग कच्चा माल खरिद गर्न पर्याप्त मात्रामा विदेशी मुद्रा सञ्चिति छैन । स्थिति कर्मचारी निष्कासन गर्नेसम्म पुग्ने आकलन गरिएको छ ।

जकोडीका अनुसार आफूसँग स्टक रहेको कच्चा माल यो महिनाको अन्तिमसम्म सकिनेछ । त्यसपछि उनीसँग सामान हुनेछैन । त्यसपछि मजदुरलाई घर पठाउने कि सरकारको ढोका ढकढक्याउने भन्ने स्थिति सिर्जना हुनेछ । 

पाकिस्तानको वर्तमान राजनीतिक संकटको सुरुवात प्रधानमन्त्री इमरान खानले संसद्मा अविश्वासको प्रस्ताव सामना सुरु गरेदेखि भएको मानिन्छ । फलतः उनी सरकारबाट च्युतसमेत भए । त्यतिवेलादेखि पाकिस्तानमा प्रदर्शन, विरोध र अविश्वासको स्थिति जारी छ ।

अहिले पाकिस्तानमा एक किलो आँटा किन्न कैयौँ घन्टा लाइन बस्नुपर्ने स्थिति आएको छ । तर, यसबारे नेताहरूलाई प्रश्न सोध्दा कोही पनि जिम्मेवार देखिँदैनन्, बन्दैनन् । बरु उल्टै एकले अर्कोलाई दोष दिएर पन्छिन खोज्छन् ।

सामान किन्न घन्टौँ लामबद्ध : केही समयअघि श्रीलंकाको हालत पनि यस्तै थियो । पेट्रोल पम्पदेखि खाद्यान्न पसलमा लामो न लामो लाइन थियो । सोही अवस्था पाकिस्तानमा पनि छ । मुद्रा अवमूल्यन बढेर एक अमेरिकी डलरबराबर पाकिस्तानी रुपैयाँ ३०० पुगेको छ । महँगीले लगातार रेकर्ड बनाएको छ । मार्च सन् २०२३ सम्म महँगी दर ४६ प्रतिशत पुगेको छ । अहिले पाकिस्तानमा एक किलो आँटा किन्न कैयौँ घन्टा लाइन बस्नुपर्ने स्थिति आएको छ । यस्तै, रोटीको लामो लाइनमा बसेका वेला भागदौड मच्चिँदा कैयौँले प्राण अर्पणसमेत गरेका छन् । तर, यसबारे नेताहरूलाई प्रश्न सोध्दा कोही पनि जिम्मेवार बन्दैनन्, देखिँदैनन् । बरु उल्टै एकले अर्कोलाई दोष दिएर पन्छिन खोज्छन् ।

विदेशमन्त्री बिलावल भुट्टोले हालसालै मात्रै राष्ट्रिय सभामा खुलेर प्रतिष्ठान (इस्टाब्लिसमेन्ट) लाई निसाना बनाउँदै प्रतिष्ठानले गरेको सजाय नेता र देशले भोग्नुपरेको बताएका थिए । अर्का राष्ट्रिय सभा सदस्य अली वजिरले पनि यही आशय व्यक्त गरेका थिए । वजिरका अनुसार हाल सत्तारूढ सरकारका ती प्रतिनिधि हुन्, जो त्यतिवेलाको गठबन्धन सरकारमा थिए । हालको सरकार सैन्य प्रतिष्ठानसँगको गठबन्धनविरुद्ध रहेको उनको टिप्पणी छ । पाकिस्तानलाई अहिलेको संकटबाट निकाल्न सैन्य प्रतिष्ठानलाई राजनीतिबाट टाढै राख्नु रहेको बताइन्छ । वजिर भन्छन्, ‘हामीले घरेलु तथा विदेशी नीतिबारे आफैँले निर्णय गर्नुपर्ने हुन्छ । सुरक्षासँग जोडिएका संस्थामा हस्तक्षेप रहँदासम्म हामी व्यस्थामा देखिएको उथलपुथल र अराजकताबाट बच्न सक्दैनौँ ।’

जनताले कहिले पाउलान् राहत ? : पाकिस्तानी रक्षामन्त्री तथा मुस्लिम लिग नवाजका वरिष्ठ सदस्य ख्वाजा आसिफलाई उनको सरकार वर्तमान संकटका लागि जिम्मेवार छ÷छैन भनेर सोधियो । आसिफले प्रतिप्रश्न गर्दै इमरान खानलाई उनले गरेको नकारात्मक कामबाट छुटकारा दिन खोजेको हो ? भन्ने संशय व्यक्त गरे । यस्तै, सरकारले आफ्नो स्थितिमा लचकता किन देखाइरहेको छैन भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘हामीले इमरान खानसँग संवाद गर्न निकै कोसिस गर्यौँ । तर, उनले कुरै बुझ्दैनन् । आफूले आफूलाई सर्वेसर्वा ठान्छन् ।’

पाकिस्तान तहरिक ए इन्साफ पार्टीका सांसद ब्यारिस्टर जफर मलिक आफ्नो पार्टी तथा अध्यक्ष इमरान खानको विषयमा अडिग छन् । उनका अनुसार देशलाई आर्थिक संकटबाट मुक्त गराउने एउटै मात्र उपाय छ । सरकारले जतिसक्दो चाँडो चुनावको घोषणा गर्न सके जनताले राहत पाउनेछन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) पनि सहयोगका लागि अगाडि बढ्नेछ भने पाकिस्तानका मित्रराष्ट्र पनि खुसी हुनेछन् । चुनाव होला–नहोला ? छिटो होला वा ढिलो होला ? यसको जवाफ कसैसँग छैन । तर, यी प्रश्नबीच पाकिस्तानमा गरिब, मध्यम वर्ग र सम्पन्न वर्गले समेत खराब आर्थिक स्थितिको सामना गरिरहेका छन् । 
 

सुझावित समाचार