बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित पाँचजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।परिषद्का अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह, नासु उषा मिश्रा, लेखापाल उत्तमराज शर्मा ढकाल र कार्यकारी निर्देशक राजेशकुमार साहलाई विशेष अदालतले दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल एवं न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले फैसला गरेको हो। विभिन्न परियोजनाको ठेक्का लगाउने क्रममा अनियमितता भएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनालाई विपक्षी बनाउँदै १५ कात्तिक २०७५ मा मुद्दा दायर गरेको थियो। त्यसमध्ये ५ जनाले भने सफाइ पाएका छन्।

के भएको थियो ?
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले भारतीय सरकारको सहयोगमा आठवटा परियोजनाको ठेक्का लगाएको थियो। जसमध्ये पाँचवटा प्याकेजमा अनियमितता भएको भेटिएपछि अख्तियारले १० जनालाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको थियो। 

परिषद्बाट गठित बोलपत्र मूल्यांकन समितिले विभिन्न मितिमा मूल्यांकन गर्दा लागत अनुमान अंकमा बदनियतपूर्वक मूल्यांकन सिफारिस गरेको भेटिएको थियो। अनुमान अंकभन्दा ३० प्रतिशतभन्दा धेरै घटेको भन्दै बोलपत्र अमान्य हुने कारण देखाउँदै केही बोलपत्रलाई मूल्यांकन प्रक्रियामा समावेश नै गराइएको थिएन।

यसरी लापरबाहीपूर्वक मूल्यांकन र बोलपत्र स्वीकृत गर्दा परिषद्लाई ६२ लाख ८८ हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो। 

साथै, निर्माण कार्यका विभिन्न आइटममा ठेक्का सम्झौता भएकोमा इकाइ दरमा घटबढ हुने गरी भेरिएसन स्वीकृत गरेको भेटिएको थियो। जसकारण परिषद्लाई थप ९ लाख ८५ हजार र अर्को ठेक्कामा ३ लाख ५४ हजार रुपैयाँको अनियमितता भएको दाबी अख्तियारले गरेको थियो। अख्तियारले कुल ७६ लाख २८ हजार रुपैयाँभन्दा बढी रकम बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। 

परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायमाथि ७६ लाख २८ हजार, तत्कालीन कार्यकारी निर्देशक डा. सूर्यदेव साहमाथि ६२ लाख ८८ हजार र परिषदमा कार्यरत नायब सुब्बा उषा मिश्रामाथि ६६ लाख ४२ हजार रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा चलाइएको थियो। 

यस मुद्दामा सूर्यदेव शाहका साथै अन्य दुईजना कार्यकारी निर्देशकलाई प्रतिवादी बनाइएको थियो। तत्कालीन कार्यकारी निर्देशकहरू राजेशकुमार साह र गोपाल झालाई क्रमशः ६२ लाख ८८ हजार तथा ९ लाख ५८ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।

परिषद्का लेखापाल उत्तमराज शर्मा ढकालमाथि पनि निर्देशक साहजति नै बिगो कायम गरिएको थियो। अख्तियारले तत्कालीन सब इन्जिनियर परशुराम साहलाई ३ लाख ५४ हजार र तत्कालीन प्रोजेक्ट इन्जिनियर उपेन्द्र झालाई १३ लाख ३९ हजार रुपैयाँ बिगो कायम गरेको थियो। 

यस मुद्दामा दुईवटा ठेकेदार कम्पनीका प्रतिनिधिलाई पनि बिगो असुलउपर प्रयोजनका लागि प्रतिवादी कायम गरिएको थियो। चन्द्रा एन्ड वसन्त कन्स्ट्रक्सनका प्रतिनिधि विष्णुबहादुर राउतमाथि ९ लाख ८५ हजार र डाँफे/ सगरमाथा जेभीका तर्फबाट प्रदीपनारायण साहमाथि ३ लाख ५४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको थियो।

दोषी ठहर भएका पाँचजनाको चैत २८ गते सजाय निर्धारण हुने बताइएको छ।

सुझावित समाचार