प्रहरीको सरुवा र बढुवालाई प्रणालीगत ढंगमा अघि बढाइन्छ : गृहमन्त्री श्रेष्ठ

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीको बढुवा र सरुवालाई अधिकतम प्रणालीगत र संस्थागत ढंगले अघि बढाइने बताएका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणपछि उनले कुनै पनि अवाञ्छित दबाब र चलखेलमा नपरी संगठनको उद्देश्यलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए । सरकारको प्रतिनिधिको रूपमा सर्वप्रथम जनतामाझ पुग्ने प्रहरी नै भएको र सरकारको प्रतिनिधिको रूपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उनको भनाइ थियो । 

निर्देशनका क्रममा मन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको छ । स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मिहिनेत गर्नुहुनेछ भन्ने आशा लिएको छु ।’ तस्करी र राजस्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उनले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारबाही गर्न निर्देशन दिए ।

मिटरब्याजबाट पीडितहरूको उजुरी समयमा नै अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई उचित न्याय दिलाउने कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न पनि उनको निर्देशन छ ।  

कार्यक्रममा प्रहरी महानिरीक्षक वबसन्तबहादुर कुँवरले तालुक मन्त्रालयबाट नेपाल प्रहरीको वृत्ति विकास, संरचनागत सुधार र हालसम्म प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दै गृहमन्त्रीको नेतृत्व एवं अभिभावकत्वमा प्रहरी कर्मचारीको वृत्ति विकास र क्षमता अभिवृद्धिमा ठोस कदम चालिने विश्वास  व्यक्त गरे ।
  
प्रहरी महानिरीक्षक कुँवरले आर्थिक अनियमितता एवं गैरव्यावसायिक आचरणविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आन्तरिक शुद्धीकरण अभियानलाई कठोरतापूर्वक लागू गर्न संगठन पूर्ण रूपमा प्रतिबद्ध रहेका बताए । मन्त्रालयको सदीक्षा र सहयोगबाट आन्तरिक शुद्धीकरणको यो अभियानले सार्थकता पाउने  उनको विश्वास छ ।

सुझावित समाचार