मेयरको नाममा परीक्षा दिने इन्जिनियर पक्राउ

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुको नाममा एसइई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार अनिवार्य गणितको परीक्षा दिइरहेका कमल साह पक्राउ परेका हुन् ।

उनी रेडियो नेपाल बर्दिवासका कर्मचारी र नाताले मेयर कानुका ज्वाइँ पर्ने बताइएको छ । परीक्षा सञ्चालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका हुन् । 

महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ स्थित श्री रामदेव जनता माध्यमिक विद्यालयका शिक्षक विक्रमकुमार महतो पक्राउ परेका छन् । गणित विषयको एसइई परीक्षामा ह्वाट्सएपको माध्यमले प्रश्नपत्र बाहिर पठाएको र बाहिरबाट उत्तर रिसिभ गरेको भेटिएपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । 

धादिङको खनियावास गाउँपालिकास्थित बच्छलादेवी माध्यमिक विद्यालय स्रोत केन्द्रबाट एसइई परीक्षा दिन आएका एकजना नक्कली विद्यार्थी पक्राउ परेका छन् । खनियावास गाउँपालिका वृचेत माध्यमिक विद्यालयका परीक्षार्थी राज तामाङको सट्टा परीक्षा दिइरहेको अवस्थामा सञ्जय लामा पक्राउ परेका हुन् ।

परीक्षालाई मर्यादित बनाउन अनुगमन गर्ने क्रममा केन्द्राध्यक्ष चित्रबहादुर गुरुङसहितको टोलीले नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको अवस्थामा फेला परेको जिल्ला शिक्षा समन्वय एकाइ धादिङका प्रमुख राजेन्द्रबहादुर क्षेत्रीले बताए । 

See More On

सुझावित समाचार