धादिङको बच्छलादेवी केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

धादिङको खनियावास गाउँपालिकास्थित बच्छलादेवी माध्यमिक विद्यालय स्रोत केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन आएका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

खनियावास गाउँपालिकाको बृचेत माध्यमिक विद्यालयका परीक्षार्थी राज तामाङको सट्टा परीक्षा दिइरहेको अवस्थामा सन्जय लामालाई पक्राउ गरिएको हो। अनुगमनका क्रममा केन्द्राध्यक्ष चित्रबहादुर गुरुङसहितको टोलीले नक्कली परीक्षार्थी पहिचान गरेको जिल्ला शिक्षा समन्वय इकाइ धादिङका प्रमुख राजेन्द्रबहादुर क्षेत्रीले बताए।

‘शिक्षा ऐन २०२८ को नियमअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘शिक्षा ऐनमा अरूको परीक्षा दिएमा १ लाखसम्म जरिवाना या छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ भनेर लेखिएको छ। त्यहीअनुसार मुद्दा दर्ता भएर अघि बढ्छ।’

राज तामाङको आज दिइएको परीक्षा रद्द भएको इकाइ प्रमुख क्षेत्रीले बताए। तामाङको यो ग्रेड वृद्धि परीक्षा हो। ‘कुनै एक वा दुई विषयमा परीक्षा दिने खालको विद्यार्थी पनि हुन सक्छ। बाँकी परीक्षा छ भने परीक्षा दिन नपाउन पनि सक्छ,’ उनले भने।
 

सुझावित समाचार