त्रिविमा बिसिएका विद्यार्थीले पाएनन् ट्रान्सक्रिप्ट

बिहिबार, १६ चैत, २०७९
डिजिटल संस्करण

नतिजा सार्वजनिक भएको पाँच महिना बित्दा पनि त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातक तहको बिसिए कार्यक्रमका विद्यार्थीले ट्रान्सक्रिप्ट पाउन सकेका छैनन् । चार वर्षमा आठ सेमेस्टर अध्ययन गरेका बिसिएको पहिलो ब्याचका विद्यार्थी पाँच महिनादेखि ट्रान्सक्रिप्टको पर्खाइमा छन् । 

सेमेस्टर प्रणालीमा सञ्चालन भएको बिसिए कार्यक्रमको परीक्षा तथा नतिजा डिन कार्यालयले सञ्चालन गर्ने र ट्रान्सक्रिप्ट परीक्षा नियन्त्रण कार्यालय बल्खुले दिने व्यवस्था छ । यी निकायबीच समन्वय नहुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको हो । 

मानविकी तथा सामाजिक संकायका सहायक डिन प्रा.डा. तारा भुसालले डिन कार्यालयबाट ट्रान्सक्रिप्टको ढाँचा पहिले नै बनाएर पठाइसकेको बताए । डिन कार्यालयका अधिकारीले भने पनिकाबाट ढिलाइ भएको हुँदा समस्या भएको जनाएका छन् । गत मंसिरमा आठौँ सेमेस्टरको नतिजा सार्वजनिक भएको थियो । 

त्रिविले पहिलो वर्ष त्रिविका दुईवटा आंगिक पाटन संयुक्त र पद्मकन्या क्याम्पसबाट बिसिए कार्यक्रम सुरु गरेको थियो । अहिले यो आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालन भइरहेको छ । पहिलो ब्याचमा करिब डेढ सय विद्यार्थी छन् । मानविकी तथा सामाजिक संकायअन्तर्गत ‘प्राइभेट’ कार्यक्रमका रूपमा सञ्चालित बिसिएमा विद्यार्थीको आकर्षण बढिरहेको छ । 

परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक डा. घनश्याम ठाकुरले सबै प्रक्रिया पूरा भएर ट्रान्सक्रिप्ट दिने तयारी भएको बताए । उनका अनुसार पहिलो ब्याच भएकाले सबै प्रक्रिया पुर्याउँदा अलि समस्या भएको हो । ट्रान्सक्रिप्ट प्रिन्ट भएर अब तत्काल विद्यार्थीको हातमा दिने तयारी भएको बताए । समयमा ट्रान्सक्रिप्ट नपाउँदा विदेश अध्ययनमा जाने र अन्य अवसरसमेत गुमेको गुनासो आउने गरेको थियो । 

See More On

सुझावित समाचार