सन्न्यास लिँदै अस्ट्रेलिया लागे सुजल

नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५१ अन्तर्राष्ट्रिय खेल खेलेका मिडफिल्डर सुजल श्रेष्ठले बिहीबार अस्ट्रेलिया जानुअघि सन्न्यासको घोषणा गरे

शुक्रबार, १० चैत, २०७९
डिजिटल संस्करण
सन्न्यास लिँदै अस्ट्रेलिया लागे सुजल

राष्ट्रिय टोलीका खेलाडी सुजल श्रेष्ठ (दायाँ) र रजिन धिमाल (बायाँ)लाई बिदाइ गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमल घर्तीमगर

राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य विशाल राई माघको तेस्रो साता अस्ट्रेलिया पुग्दा दुई दशक सँगै खेलेका सुजल श्रेष्ठले निकै भावुक सन्देश लेखेका थिए । सुजलले विशालसँग दुई दशक राष्ट्रिय टोली र क्लबमा बिताएका हरेक क्षण सधैँ स्मरणीय हुने बताएका थिए । युवा तथा सिनियर खेलाडी आफ्नो भविष्य सुनिश्चित बनाउन विदेश पलायन भइरहँदा त्यसको असर फुटबलमा पर्ने सुजलले जनाएका थिए । यसले आफू अन्यन्तै दुःखी भएको उनको भनाइ थियो । 

गत माघको दोस्रो सातामा सोसल मिडियामा प्रतिभावान् खेलाडी विदेश पलायनका दुःख व्यक्त गरेका सुजल स्वयं बिहीबार अस्ट्रेलिया लागेका छन् । सुजलले पनि आफ्नो अति नै मिल्ने साथी विशालकै बाटो पछ्याउँदा सोसल मिडियाबाटै जानकारी दिएका छन् । सुजलले आफ्ना समर्थकलाई अस्ट्रेलिया जानुको बाध्यतासँगै अर्को स्तब्ध निर्णयसमेत लिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित खेलाडीसमेत रहेका सुजलले अस्ट्रेलिया जानुअघि अन्तर्राष्ट्रिय खेलबाट सन्न्यासको घोषणा गरेका छन् । एकपटक नेपालको कप्तानी ‘आर्म ब्यान्ड’ लगाएका सुजल बिहीबार राति अस्ट्रेलिया हिँडेका हुन् । 

सुजलले राष्ट्रिय टोलीबाट सन्न्यास लिने
राम्रो समय भएको नयाँ पत्रिकासँग बताएका छन् । ‘मेरा लागि यो सन्न्यास लिने उपयुक्त समय हो, साथै विदेश गएर आफ्नो भविष्य बनाउने पनि यही नै वेला जस्तो लागेको छ,’ नेपालबाट तीन अन्तर्राष्ट्रिय गोल गरेका मिडफिल्डर
सुजलले भने ।

सुजलसँगै अर्का सदस्य रजिन धिमाल पनि अस्ट्रेलिया प्रस्थान गरे । सहिद स्मारक ए डिभिजन लिगमा रजिन, विशाल र सुजल मच्छिन्द्र फुटबल क्लबमा अनुबन्धित थिए । सुजलले अस्ट्रेलियामा बेनी एफसीबाट खेल्ने निर्णय लिएका छन् । बेनी एफसी त्यही क्लब हो, जहाँ नेपाली राष्ट्रिय टोलीका आधा दर्जन खेलाडी छन् । बेनीमा विशालसँगै अभिषेक रिजाल, नितिन थापा, रञ्जन विष्ट, सुमन अर्याललगायत खेलाडी छन् । पछिल्लो समय अस्ट्रेलियामा मात्रै नेपालका तीन दर्जन खेलाडी पुगेका छन् । रोजगारसँगसँगै खेलकुदमा खेलाडीको मोह देखिएको छ । 

 भुटानविरुद्ध डेब्यु र पाकिस्तानसँग अन्तिम
सुजलले नेपालका लागि सन् २०११ मार्च १९ मा भुटानविरुद्ध डेब्यु गरेका थिए । पोखरामा भएको खेलमा डेब्यु गरेका सुजलको अन्तिम खेल दशरथ रंगशालामा गत नोभेम्बरमा पाकिस्तानविरुद्ध रह्यो । आफ्नो अन्तिम खेलमा उनले ४५ मिनेट मैदानमा बिताए । सन् २०१९ मन्डालामा म्यानमारविरुद्ध कप्तानी आर्म ब्यान्ड लगाएका सुजलले टिमोर लिस्टे, मकाउ र अफ्रिकन प्रतिद्वन्द्वी मोरिससविरुद्ध एक–एक गोल गरेका छन् । 

सुजलले युवा खेलाडीको आगमनबढ्दो भएकाले आफ्नो सन्न्यास लिने समय आएको बताए । ‘फुटबलमा युवा खेलाडीको आगमन बढ्दो छ । उनीहरूलाई अवसरदिनुपर्छ जस्तो पनि लाग्छ,’ सुजल भन्छन् । सुजलको कप्तानीमा नेपालले सन् २०१९ मा नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो । खेलाडी रहँदा उनले एएफसी सोलिडारिटी र गत चैतमा दशरथ रंगशालामा भएको थ्री नेसन्स कपको उपाधि जितेका छन् । 

 चार लिग उपाधि 
घरेलु फुटबलमा सुजल निकै सफलखेलाडी हुन् । सुजलले सहिद स्मारक ए डिभिजन लिगमा सर्वाधिक आठपटक च्याम्पियन मनाङ मस्र्याङ्दी र दुईपटकको च्याम्पियन मच्छिन्द्रबाट खेले । सुजलले एन्फा एकेडेमीपछि सीधै मनाङजस्तो चर्चित क्लबबाट खेल्ने अवसर पाए ।

मनाङमा उनले एक दशक बताए । विशाल र सुजलले नौ वर्ष मनाङबाट खेले । मनाङले ०७५ सालमा भएको विनारेलिगेसन लिगमा कीर्तिमानी आठौँपटक जित्दा र ०७० को लिग जित्दा सुजल र विशाल मुख्य खेलाडी थिए । ०७६ मा दुवै खेलाडी मनाङसँगको लामो यात्रा टुंग्याउँदै मच्छिन्द्र क्लबसँग आबद्ध भए । 

यी दुवै खेलाडीले मच्छिन्द्रलाई ०७६ र ०७८ सालमा लगातार दुईपटक ए डिभिजन लिगको उपाधि दिलाए । ‘अस्ट्रेलियामा कति बस्छु, कति खेल्छु, थाहा छैन । मन लागे त्यतै बस्छु,’ सुजलले भने, ‘त्यहाँको वातावरण मिलेन भने नेपाल फर्केर घरेलु फुटबल खेल्छु ।’ 

पालो नयाँ  पुस्ताको : सुजल
११ वर्ष, ५१ खेल आफ्नो देश नेपालको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केही खुसी, केही दुःख, कतै उपाधि, कही निराश क्षणजस्ता यी सबै तितामिठा सम्झना मनमा रहनेछन् । आज म राष्ट्रिय टोलीबाट आफ्नो सन्न्यास घोषणा गर्दछु । यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरा लागि ठूलो सम्मान थियो ।

हाल राष्ट्रिय टोलीका र अन्य भाइहरू धेरै क्षमतावान् छन्, अब पालो नयाँ पुस्ताको हो । मलाई विश्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँसम्म मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकहरूलाई पनि हृदयदेखि नै धन्यवाद छ । मलाई लाग्छ, अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने यो मेरा लागि उपयुक्त समय हो । 

सुझावित समाचार