विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित थिएटर अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को चार विधामा मनोनयनमा परेको छ । विमल सुवेदीकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, संगीत, कोरियोग्राफी र लाइटगरी चार विधामा मनोनयनमा परेको हो । चार सय ९५ नाटकबाट छानिएर यो नाटक उत्कृष्ट १० मा परेको हो । छानिएका नाटकहरू २५ देखि २९ मार्चसम्म दिल्लीमा मञ्चन हुनेछन् ।
सुवेदीले आफ्नो नाटकमा जबर्जस्ती जन्मथलो छाड्न बाध्य भएका नेपालीभाषी भुटानीको कथा उठान गरेका छन् । ‘यो भुटानी शरणार्थीको कथा हो, जो आफ्नो पुख्र्यौली थलो छाड्न बाध्य भएर विश्वका धेरै देशमा पुगे । नाटकले घर बन्ने प्रक्रियादेखि बनेको घर भताभुंग भएको अवस्थासम्मलाई अभिव्यक्त गर्ने प्रयास गरेको छ,’ सुवेदीले भने ।
नाटककार सुवेदीले नेपाली कथा विश्व रंगमञ्चमा प्रस्तुत गर्ने आफ्नो उद्देश्य रहेको बताए । ‘नेपाली कथा विश्व घुम्नुपर्छ र हाम्रो दर्शनलाई आफ्नै हिसाबले अभिव्यक्त गर्नुपर्छ भन्ने मेरो मान्यता हो । यो नाटकको यात्राले मलाई त्यो मान्यतामा अडिग रहन प्रेरित गरेको छ,’ उनले भने ।
नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटर मिलेर तयार गरेको नाटकले यसअघि सन् २०१९ मा सेरेनपिडिटी आर्टस् ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । यो नाटक मार्च २५ तारिखका दिन दिल्लीस्थित श्रीराम सेन्टरमा प्रदर्शन हुँदै छ ।