लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन्। अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषको सहआयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रवज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो।
अखिल नेपाल भिक्षु महासंघका महास्थवीर धम्म शोभन र धम्मकाय फाउन्डेसनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गरे। अल्पकालीन भिक्षुले पहेँलो चिवर लगाएर बुद्ध धर्मका एक सय नियम पालना गर्नुपर्नेछ।
सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ । चैत १७ गते अल्पकालीन भिक्षुको समय सकिनेछ।
फागुन २७ गते काठमाडौं र फागुन २८ गते लुम्बिनीमा गरी पाँच सय भिक्षुको केश मुन्डन गरिएको थियो। केश मुन्डन गरिए पनि बिहीबार मात्रै प्रवज्या गरी अल्पकालीन भिक्षुका रूपमा पहेँलो चिवर प्रदान गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए।
चिवर प्रदान एवं कुलपुत्र प्रवज्या कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सबैले बुद्धको शिक्षा ग्रहण गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा अखिल नेपाल भिक्षु संघका महास्थवीर शोभनले बुद्ध शिक्षालाई व्यवहारमा उतार्न आग्रह गरे। कोरोना महामारीका कारण तीन वर्षसम्म प्रवज्या कार्यक्रम स्थगित भएको थियो।
यसअघि सन् २०११ मा एक हजार, सन् २०१५ मा एक हजार एक सय १२ र सन् २०१९ मा एक हजार एक सय १९ जनालाई प्रवज्या गराइएको थियो।