आइएमई मोटर्सले प्रवद्र्धन गरेको अशोक लेल्यान्डले ग्राहकलाई लक्षित गरी आफ्नो हलुका सवारीसाधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’मा पाँच वर्षको वारेन्टी घोषणा गरेको छ । कम्पनीले अटोमोबाइल क्षेत्रकै सम्भवत सबैभन्दा बढी वारेन्टी घोषणा गरेको हो ।
यो सवारीसाधन उत्पादक कम्पनी आफैँले घोषणा गरेको वास्तविक वारेन्टी भएको जनाएको छ । यो एक्सटेन्डेड वारेन्टी भएको कम्पनीको भनाइ छ । यो कदम ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनका लागि भएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट रहेको कम्पनीको दाबी छ । यसले दोस्त गाडीको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टलाई कभर गर्ने उल्लेख छ । यो वारेन्टीअन्तर्गत इन्जिनका साथै पावर स्टेरिङ बक्स, पावर स्टेरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर–रेडिएटर कोर र कुलिङ फ्यान क्लचजस्ता प्रमुख उपकरण सबैमा कभर हुने कम्पनीको भनाइ छ । यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटरजस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिटसमेत कभर हुने जनाइएको छ ।
आइएमई मोटर्सका सिइओ हेमन्त पुराणिकले उत्पादक कम्पनीको पाँचवर्षे वारेन्टी एलसिभी सेगमेन्टकै पहिलो र सबैभन्दा राम्रो रहेको बताए । यसले आफ्नो उत्पादनमा विश्वसनीयता बढाउनुका साथै ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारीसाधन सञ्चालन गर्न सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘यो वारेन्टीले हाम्रा ग्राहकलाई आफ्नो सवारीसाधन अझै विश्वसनीय तरिकाले प्रयोग गर्न सहयोग गर्नुका साथै दीर्घकालीन सञ्चालन खर्चमा समेत कमी ल्याउन मद्दत गर्नेछ ।’
सबै प्रमुख कम्पोनेन्ट समेट्ने व्यापक वारेन्टी प्याकेज प्रदान गरेर कम्पनीले आफ्ना ग्राहकलाई झन्झटमुक्त स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । नेपालका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुने जनाइएको छ । कुनै कारणले सवारीसाधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिका लागि सो वारेन्टी हस्तान्तरण हुने उल्लेख छ । साथै, कम्पनीले ग्राहकलाई आफूले चाहेको कमर्सियल गाडी खरिद गर्न सहयोग पुर्याउन सहज फाइनान्स सुविधाको समेत व्यवस्था गरेको जनाएको छ ।