गलकोट बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका लोकेन्द्र गैरे सर्वसम्मत

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

बाग्लुङको गलकोट बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे सर्वसम्मत निर्वाचित भएका छन्। क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संगठनको सहमतिमै गैरे अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।

लामो समयको छलफलपछि स्ववियुका सबै पदमा सर्वसम्मत चयन भएका हुन्। उपाध्यक्षमा नेविसंघकै सुप्रिया गौतम, सचिवमा अखिल क्रान्तिकारीका गगन विश्वकर्मा, सहसचिवमा अनेरास्ववियुकी सुस्मा पन्त र कोषाध्यक्षमा अनेरास्ववियु (छैठौँ) का गणेश सापकोटा चयन भएका निर्वाचन अधिकृत नवराज गौतमले जानकारी दिए। 

सदस्यहरूमा नेविसंघकी हिरादेवी सुवेदी, विशाल उप्रेती, अनेरास्ववियुका निशा थापा, अखिल क्रान्तिकारीका सारा पुन, हेमन्त भण्डारी र अनेरास्ववियु (छैठौँ)की विनिता गौतम रहेका छन्।

चैत्र ५ गते निर्वाचनको मिति तय भएअनुसार बिहीबार मनोनयन दर्ताको समय थियो। मनोनयन दर्ताको समयमा कुनै पनि पदमा अन्य व्यक्तिको दर्ता नभएपछि सर्वसम्मत भएको हो। निर्वाचन अधिकृतको कार्यालयले अन्य प्रक्रियाहरू पूरा गरेर सर्वसम्मत रूपमा स्ववियुको कार्यसमिति घोषणा गरेको छ भने प्रमाणपत्र वितरणको काम पछि गरिने निर्वाचन अधिकृत गौतमले जानकारी दिए।

क्याम्पसभित्र क्रियाशील विद्यार्थी संगठनको सहमतिमा स्ववियुले सर्वसम्मत नयाँ नेतृत्व पाएको हो। ०७३ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा भएको थियो। त्यो वेला नेविसंघका गुमानसिंह भण्डारी निर्वाचित भएका थिए।

सुझावित समाचार