एकता र सहकार्यको सन्देश दिन मानवसाङ्लो

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानवसाङ्लो निकालिएको छ। 

नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको १००औँ शृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार सिक्सलेनमा मानवसाङ्लो निकालिएको हो। 

अयिभानमा सबै नागरिकको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानवसाङ्लो आयोजना गरिएको नगर पालिकाले जनाएको छ।

योगीकुटीदेखि कोटिहवाको १३ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीले एक–आपसमा हात जोडेर सरसफाइ अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए। 

मानवसाङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघसंस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरूले सहभागिता जनाएका थिए।

सरसफाइ तिलोत्तमाको पहिचान र सभ्यता हो भन्ने कुरामा सबै नगरवासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानवसाङ्लो निकालिएको नगरपालिकाले जनाएको छ।

सहभागीले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए।

मंगलबार नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाइ स्मारक उद्घाटनसमेत गरिएको छ। अभियान १००औँ शृंखलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाइ स्मारक निर्माण गरिएको हो। स्मारकमा पुरुष र महिलाले सरसफाइ गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ। 

सुझावित समाचार