इन्डोनेसियाको गेसिट्स स्कुटर बजारमा

एमभी दुगड ग्रुपले पनि भित्र्यायो विद्युतीय सवारीसाधन

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण

एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले इन्डोनेसियाली विद्युतीय टू ह्विलर्स ब्रान्ड गेसिट्स नेपालमा भित्र्याएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले एक कार्यक्रमबीच विद्युतीय स्कुटर गेसिट्स सार्वजनिक गरेका हुन् । 

नक्सालमा निर्मित गेसिट्सको नयाँ सोरुममा भएको कार्यक्रममा गु्रपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, डाइरेक्टर विजय महतो र गेसिट्स ब्रान्डको एमभी दुगड गु्रप नेपालका लागि प्रमुख कनक जमरको उपस्थिति रहेको जनाइएको छ ।  

 विशेषता
यो स्कुटर रातो, सेतो र कालो गरी तीनवटा रङमा उपलब्ध रहेको जनाइएको छ । यो हालसम्म नेपालमा उपलब्ध भएको सबैभन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर रहेको कम्पनीको दाबी छ । अन्य स्कुटरमा नभएको मोनो सक यसमा भएको जनाइएको छ । यसका कारण ग्राभेल सडक तथा खाल्डाखुल्डी बाटोमा चलाउँदासमेत बढी लचकता हुने भएकाले चालकलाई थकान कम हुने कम्पनीले उल्लेख गरेको छ ।

यो नेपालमा उपलब्ध स्कुटरमध्ये सबैभन्दा शक्तिशाली विद्युतीय स्कुटर भएकाले देशका सबै भूभागमा उपयुक्त हुने कम्पनीको दाबी छ । ड्राइभ बेल्टसमेत रहेको यो स्कुटरको ब्याट्री निकाल्न मिल्ने हुनाले चोरी हुनबाट जोगाउन निकालेर सुरक्षित स्थानमा राख्न सकिनुका साथै चार्ज गर्न सजिलो रहेको कम्पनीले जनाएको छ । यसमा दुईवटा डिस्कब्रेक भएकाले सुरक्षित रहेको उल्लेख छ । यो स्कुटरले एकपटकको चार्जमा एक सय किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा रहेको स्मार्ट एलइडी ब्याट्रीमा कम्पनीले तीन वर्षको वारेन्टी प्रदान गरेको छ । 

ब्याट्री पूर्ण चार्ज हुन ९० मिनेट मात्र लाग्ने तथा यसमा बिडिएमएस रहेकाले ओभर चार्जिङ प्रोटेक्सन, ओभर डिस्चार्जिङ प्रोटेक्सन, ओभर करेन्ट प्रिभेन्सन, टेम्परेचर कन्ट्रोल, सर्ट–सर्किट प्रिभेन्सन र सेल इक्वलाइजेसन गर्नसमेत मद्दत गर्ने जनाइएको छ । यसको तौल आठ किलोग्राम मात्र रहेकाले बोक्न सजिलो हुनुका साथै चार्ज गर्दा चार्जिङ गतिविधि ट्र्याक गर्न धेरै सजिलो हुने कम्पनीको दाबी छ । स्मार्ट एलइडी ब्याट्रीको ग्यारेन्टी तीन वर्षको रहेको छ । यसले पूर्ण रूपमा चार्ज गर्दा १.३ युनिट मात्र विद्युत् खपत गर्ने जनाइएको छ । 

सुझावित समाचार