त्रिभुवन विश्वविद्यालयको ११ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रियामा समस्या देखिएको छ । सोमबार उम्मेदवारको नामावली सार्वजनिक हुनुपर्ने कार्यतालिका भए पनि राजधानीबाहिरका ६ र उपत्यकाका पाँच गरी क्याम्पसमा समस्या देखिएको छ ।
काठमाडौंको त्रिचन्द्र बहुमुखी र विश्वभाषा क्याम्पसमा पूर्ण रूपमा अवरोध भएको छ । पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स र रत्नराज्य क्याम्पसमा समेत समस्या छ । यी तीन क्याम्पसमा भने सहमतिको प्रयास भएका छन् । उपत्यकाबाहिरका महेन्द्रनगरको सिद्धनाथ बहुमुखी, नेपालगन्जको महेन्द्र बहुमुखी, पाल्पाको त्रिभुवन बहुमुखी, बाग्लुङको धौलागिरि बहुमुखी, पोखराको पृथ्वीनारायण बहुमुखी र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया रोकिएको छ ।
त्रिविका ६२ मध्ये ११ क्याम्पसबाहेकका क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा स्ववियु निर्वाचन प्रक्रिया अघि बढेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्रा.डा. पशुपति अधिकारीले जानकारी दिए । ‘आफ्ना नेता छान्नका लागि विद्यार्थी उत्साहित भएको हामीले पाएका छौँ,’ उनले भने । कतै सत्तानिकट विद्यार्थी संगठन र अरू संगठनबीचमा विवाद छ भने कतै एउटै विद्यार्थी संगठनभित्रका धेरै समूह चुनावी प्रतिस्पर्धामा लागेकाले समस्या भएको छ ।