कप्तान रोहितकुमार पौडेलको कप्तानी इनिङ, दुई महत्वपूर्ण अर्धशतक र डेथ ओभरमा दीपेन्द्रसिंह ऐरी र गुल्सन झाको तुफानी रनको मद्दतमा नेपालले युएईलाई दुई सय ४९ रनको रनको लक्ष्य दिएको छ ।
२२ ओभरभित्र तीन महत्वपूर्ण विकेट गुमाइसकेको अवस्थाबाट संघर्ष गर्दै नेपालले ४९.२ ओभरमा अलआउट हुँदै दुई सय ४८ रन बनायो ।
कप्तान पौडेलले ७७, आरिफ शेखले ४३, गुल्सनले ३७, दीपेन्द्रले ३४, भीम सार्कीले २९ रन बनाए । अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । कुशल भुर्तेलले आठ, आसिफ शून्य, कुशल मल्ल नाै, सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई रन दिए । ललित राजवंशी शून्य रनमा अविजित रहे ।
कप्तान रोहित र भीमबीच चौथो विकेटका लागि ५४ र रोहित तथा आरिफबीच पाँचौँ विकेटका लागि ८६ रनको साझेदारी भएपछि नेपाल खेलमा फर्किएको हो ।
दीपेन्द्रले तुफानी इनिङ खेल्ने क्रममा १९ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३४ रन बनाए । यस्तै, गुल्सनले पनि तीन छक्का र एक चौकाको सहायताले ३२ बलमा ३७ रन बनाए ।
गुल्सन र दीपेन्द्रले ४७औँ ओभरमा रोहन मुस्तफाविरुद्ध तीन छक्कासहित ओभरमा २१ रन लिएका थिए ।
एक सय १२ बलको सामना गरेका रोहितले नाै चौकाको मद्दतमा ७७ रन बनाए । संकटका वेला रोहितले संयमित हुँदै करिअरको आठौँ अर्धशतक बनाए ।
रोहन मुस्तफालाई लगातार दुई चौका प्रहार गरेपछि अनावश्यक रूपमा छक्काका लागि प्रयास गर्दा भीम मिडविकेटमा क्याचआउट भएपछि पहिलो अर्धशतकीय साझेदारी टुटेको थियो ।
युएईसँगको महत्वपूर्ण खेलमा नेपालको ब्याटिङ पहिलो ओभरदेखि नै धराशायी बनेको थियो । आठ ओभरभित्र नेपालले तीन विकेट गुमाएको थियो ।
ओपनरद्वय आसिफ शेख, कुशल मल्ल र अपअर्डर ब्याटिङमा प्रमोसन पाएका कुशल मल्ल युएईका बलरसामु टिक्न सकेनन् । अघिल्ला खेलमा सानदार फर्ममा रहेका आसिफलाई आर्यन लाक्राले एलबिडब्लू धरापमा पारे भने कुशल भुर्तेल आयन अफजल खानको बलमा एलबिडब्लू नै आउट भए । जुनैद सिद्धिकीको बलमा संयम गुमाई अनावश्यक ठूलो सट खेल्ने प्रयास गर्दा कुशल मल्ल मोहम्मद वसिमको हातबाट सहज क्याचआउट भए ।
पछिल्ला केही म्याचमा सानदार ब्याटिङ गरेका आसिफ र कुशल मल्लले आज निराश बनाएका छन् । यस्तै, पछिल्ला केही इनिङमा राम्रो रन बन्न नसकिरहेका वेला कुशल भुर्तेलले अवसर गुमाए ।