आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत अहिले नेपाल र युएईबीच खेल भएरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा गहिरो संकटमा पुगेको नेपाली ब्याटिङ सम्हालिन नपाउँदै पुनः विकेट गुमेको छ ।
टस जितेर नेपालले ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा २२ ओभरभित्र चार विकेट गुमाएर ७६ रन बनाएको छ ।
कप्तान रोहितकुमार पौडेल र भीम सार्कीबीचको अर्धशतकीय साझेदारी तोडिएको छ । यी दुईबीच ५४ रनको साझेदारी बन्यो ।
रोहन मुस्तफालाई लगातार दुई चौका प्रहार गरेपछि अनावश्यक रूपमा छक्काका लागि प्रयास गर्दा भीम मिडविकेटमा क्याचआउट हुन पुगे ।
त्यसअघि १८औँ ओभरमा २२ रन बनाउँदा तेस्रो विकेट गुमेपछि भीम क्रिजमा आएका थिए ।
संकटपूर्ण अवस्थामा रहेको नेपाली इनिङ सम्हाल्ने अझै केही ओभर संयमित हुनुपर्ने वेला भीमले संयम गुमाए । अहिले क्रिजमा ३२ रन बनाएर रोहित तथा दुई रन बनाएर आरिफ शेख खेलिरहेका छन् ।
युएईसँगको महत्वपूर्ण खेलमा नेपालको ब्याटिङ पहिलो ओभरदेखि नै धराशायी बनेको थियो । आठ ओभरभित्र नेपालले तीन विकेट गुमाएको थियो ।
ओपनरद्वय आसिफ शेख, कुशल मल्ल र अपअर्डर ब्याटिङमा प्रमोसन पाएका कुशल मल्ल युएईका बलरसामु टिक्न सकेनन् ।
पाँच बल खेलका आसिफ शून्य, १५ बलको सामना गरेका कुशल भुर्तेल आठ र १५ बल नै खेलेका कुशल मल्ल नाै रन बनाएर आउट भए ।
अघिल्ला खेलमा शानदार फर्ममा रहेका आसिफलाई आर्यन लाक्राले एलबिडब्लू धरापमा पारे भने कुशल भुर्तेल आयन अफजल खानको बलमा एलबिडब्लू नै आउट भए । जुनैद सिद्धिकीको बलमा संयम गुमाई अनावश्यक ठूलो सट खेल्ने प्रयास गर्दा कुशल मल्ल मोहम्मद वसिमको हातबाट सहज क्याचआउट भए ।
पछिल्ला केही म्याचमा सानदार ब्याटिङ गरेका आसिफ र कुशल मल्लले आज निराश बनाएका छन् । यस्तै, पछिल्ला केही इनिङमा राम्रो रन बन्न नसकिरहेका वेला कुशल भुर्तेलले अवसर गुमाए ।
टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको निर्णय पूर्णतः गलत साबित भएको छ । यसअघिका खेलमा नेपालले टस जितेपछि पहिल फिल्डिङ रोजेर लक्ष्य पछ्याउने गरेको थियो ।
स्कटल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र युएईसँगका पछिल्ला आठ खेलमा लक्ष्य पछ्याउँदा नेपालले आठमा जित हात पारेको थियो । युएईसँग मात्र दुई सय रनको सामान्य लक्ष्य पनि पछ्याउन सकेको थिएन ।