वरपर सुनसान जंगल। जंगलको छेउमै छ टोकरी गाउँ। कुनै वेला निकै चहलपहल हुने यो गाउँ अहिले उराठ बनेको छ। त्यही गाउँ छेउमै ढुंगा, काठ र माटोले बनेको एउटा जीर्ण विद्यालय छ। विद्यालयमा थोरै विद्यार्थी भए पनि कक्षा पाँचसम्म पढाइ हुन्छ। कक्षा पाँचसम्मको विद्यालय अहिले एक शिक्षिकाको भरमा चलेको छ।
विद्यालयका प्रधानाध्यापक सेवानिवृत्त भएपछि एक महिनादेखि गलकोट नगरपालिका–७ टोकरीगाउँस्थित देउराली प्राथमिक विद्यालयमा स्थानीय ज्योति थापाले पढाउँदै आएकी छिन्। एक महिनाअगाडि प्रधानाध्यापक केयरसिंह थापा सेवानिवृत्त भए। अर्का एक शिक्षिकाले विवाह गरिन्। त्यसपछि विद्यालयको सबै जिम्मेवारी शिक्षिका ज्योति थापाको काँधमा आयो।
विद्यालयमा १९ विद्यार्थी छन्। कक्षा तीन र चार खाली छ। हाल कक्षा एक, दुई र पाँचमा पढाइ हुन्छ। कक्षा एकमा १०, कक्षा दुईमा पाँच र कक्षा पाँचमा चार विद्यार्थी अध्ययनरत छन्। तीनवटा कक्षाका विद्यार्थीलाई एक्लै पठनपाठन गराउँदा समस्या भएको शिक्षिका थापा बताउँछिन्। विद्यालयमा अझै दुई-तीनजना शिक्षकको आवश्यकता छ।
‘एक्लै छु, घरमा अपरझट काम पर्दा, बिरामी परेँ भने विद्यालय नै बन्द हुन्छ। सबै विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउने गरेको छु,’ शिक्षिका थापाले भनिन्, ‘प्रअ सरले अवधि पुगेर राजीनामा दिनुभयो। रूपा मिस विवाह बिदामा हुनुहुन्छ, अस्ति दुई दिन आउनुभएको थियो, त्यसपछि आउनुभएको छैन।’ शिक्षिका थापाले अहिले विद्यार्थीलाई बहुकक्षा शिक्षा प्रणालीअनुसार अध्यापन गराइरहेकी छिन्।
कुनै वेला विद्यार्थीले भरिभराउ हुने देउराली प्राथमिक विद्यालय मात्र होइन, बढ्दो बसाइँसराइले गाउँ नै सुनसान बनेको छ। विद्यालयमा दुईजनाको स्थायी दरबन्दी रहे पनि अहिले रिक्त छ। हाल एक्लै अध्यापन गराउँदै आएकी ज्योतिलाई केही महिनाअगाडि घुम्टे युवा परिवार जापानले एक वर्षको तलब दिने गरी राखेको हो।
गलकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटाले विद्यालयमा दुई स्थायी शिक्षक आउने जानकारी दिए। तर, कहिले आउने यकिन नभएको उनको भनाइ छ। सापकोटाले स्थायी शिक्षिक नआउँदासम्म अर्को विकल्प नभएको बताए। नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले व्यवस्थापन समितिले अहिलेसम्म यसको बारेमा जानकारी नगराएको भन्दै विद्यालयको अवस्था बुझेर शिक्षकको व्यवस्थापन गर्ने बताए।