नेपालको पूर्वाधार एवं उत्पादनमूलक क्षेत्रमा लगानीका अवसरहरू खोजी गर्न भन्दै योङ प्रेसिडेन्ट अर्गनाइजेसन (वाइपिओ) सिंगापुर च्याप्टरबाट तीन दर्जनभन्दा बढी युवा उद्यमीको टोली नेपाल भ्रमणमा आएको छ । उक्त टोलीले शुक्रबार उद्योगपति एवं सांसद विनोद चौधरीसँग विदेशी लगानीका सम्भावना र अवसरबारे छलफल गरेको छ ।
नेपाल प्राकृतिक स्रोतमा धनी हुँदाहुँदै पनि पछाडि परिरहेको उद्योगी चौधरीले बताए । ‘यदि उपलब्ध स्रोतको सही व्यवस्थापन गर्न सकेको भए देश धेरै धनी भइसक्थ्यो,’ उनले भने, ‘स्रोत हुनु मात्रै ठूलो कुरा होइन रहेछ, सही व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहेछ ।’ नेपालले भिजिनरी नेता नपाउँदा उपलब्ध स्रोतको सही सदुपयोग हुन नसकेको उनको तर्क थियो ।
चौधरीले आफ्नो व्यवसाय कसरी दक्षिण एसिया, मध्यपूर्व, युरोप, अफ्रिका हुँदै अमेरिकासम्म फैलियो भन्ने कथा पनि सुनाएका थिए । टोलीमा विश्वका विभिन्न चर्चित कम्पनीका लगानीकर्ता तथा प्रमुख कार्यकारीहरू सहभागी छन् । उड्डयन, वित्तीय प्रविधि, मिडिया, मनोरञ्जन, एआई, सिपिङ, हस्पिटालिटी, माइनिङलगायत क्षेत्रमा आबद्ध उद्यमीहरूले नेपालमा विदेशी लगानीको सम्भावनाबारे अध्ययन गर्नेछन् ।