३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।उपराष्ट्रपतिमा मनोनयनका लागि केही दलले उम्मेदवारको टुंगो लगाएका छन् ।
आठदलीय गठबन्धनमध्येको एक दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता एवं बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गठबन्धनकै घटक जनमतले सप्तरी इन्चार्ज ममता झालाई बनाउने निर्णय गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिमा अघि सार्ने निर्णय गरे पनि उनको योग्यता नपुग्ने देखिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति हुन ४५ वर्ष उमेर पुगेको हुनुपर्छ । रञ्जिताको उमेर ४० वर्ष मात्रै पुगेको संसद् सचिवालयको तथ्यांकले देखाएको छ । प्रतिपक्षी एमालेले महिला उम्मेदवार नै अघि सार्ने भएको छ । शनिबार बिहान सचिवालय बैठक बसेर उम्मेदवारको नाम तय गरिने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।
दलहरू उपराष्ट्रपतिको उम्मेदवार तय गर्न जुटेका वेला निर्वाचन आयोगले खस–आर्य समुदायबाहेकको महिला हुनुपर्ने मापदण्ड तय गरेपछि राजनीतिक वृत्तमा तरंग आएको छ । तर, उम्मेदवारी दर्तासम्म आयोगले के गर्छ भन्ने निश्चित छैन ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपतिमा पुरुष (रामचन्द्र पौडेल) खस–आर्य निर्वाचित भएकाले उपराष्ट्रपतिमा खस–आर्यबाहेकको (दलित, जनजाति, मधेसी, थारू वा मुस्लिम) समुदायबाट महिला उम्मेदवार हुनुपर्ने संविधान र कानुनको भावना भएकाले मापदण्ड तोकिएको बताए । ‘यही स्पिरिटमा उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइसकिएको छ,’ उनले भने ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने संविधान, कानुन र आयोगको निर्देशनबमोजिम मनोनयन दर्ता गरिने बताए । ‘संविधान, कानुन र आयोगको निर्देशनबमोजिम अघि बढ्छौँ । पुरुष, महिला भन्नेमा अहिले नजाऔँ । दर्ता गर्ने वेला यी कुरा हेर्छाैँ,’ उनले भने ।
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुने उल्लेख छ । ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ,’ संविधानले भनेको छ ।संविधान निर्माणपछि निर्वाचित राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगका थिए । अभ्यासमै पनि फरक लिंग प्रयोगमा आइसकेकाले यसपालि निरन्तरता दिन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको थपलियाको तर्क छ ।
आयोगको यो निर्णयको पक्ष–विपक्षमा जनमत विभाजित भइरहेका वेला पुरुष उम्मेदवार उठाएको जसपाले विरोध गरेको छ । संविधान र कानुनमा फरक लिंग वा समुदाय भनेकाले राष्ट्रपतिभन्दा फरक समुदायका रामसहाय यादवले उम्मेदवारी दिने अध्यक्ष उपेन्द्र यादवले बताए । ‘फरक लिंग वा समुदाय भनेकै रामचन्द्र पौडेल र रामसहाय यादव हो । उहाँहरू फरक समुदायका हुनुहुन्छ,’ उनले भने ।
जसपा सांसद प्रदीप यादवले संविधानभन्दा माथि आयोग नभएकाले महिला नै हुनुपर्छ भन्ने मापदण्ड स्वीकार्य नहुने बताए । ‘संविधानले फरक लिंग वा समुदाय भनेर स्पष्ट गरेको छ । संविधानभन्दा माथि आयोग छैन । संविधान मिचेर निर्णय गर्नुहुन्छ भने अदालतबाहेक अरू विकल्प छैन,’ उनले भने । जसपाबाट प्रस्तावित उम्मेदवार रामसहाय यादवले पनि संविधानले पुरुष पनि उम्मेदवार बन्ने ठाउँ दिएको जिकिर गरे । ‘सभामुख/उपसभामुखजस्तो अनिवार्य गरेको छैन । वा भनेको महिला बनाए पनि हुन्छ । फरक समुदायको पुरुष पनि बन्न सक्छ,’ उनले भने ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले संविधानले उपराष्ट्रपतिमा फरक लिंग वा समुदायको हुनुपर्छ भनेर प्रस्ट भनेको बताए । एउटा समुदायको पुरुष राष्ट्रपति र अर्काे समुदायको पुरुष उपराष्ट्रपति हुन संविधानले व्यवस्था गरेको उनको दाबी छ । ‘तर, फरक समुदायको राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्छ भनेर संविधानले जे व्यवस्था गरेको छ । त्यो व्यवस्थाको विपरीत निर्वाचन आयोगले निर्णय गरेको छ । निर्णय संविधानको व्यवस्थाअनुकूल छैन,’ उनले भने ।
माओवादीले भने उपराष्ट्रपति महिला नै हुनुपर्ने निष्कर्ष निकालेको छ । ‘संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ । एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए वेश हुन्थ्यो,’ माओवादी महासचिव देव गुरुङले भने, ‘हामीले परामर्श दिनुपर्दा लैंगिक रूपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।’ फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनबाटै पहल हुने उनको भनाइ छ ।
उपमहासचिव शक्ति बस्नेतले पनि महिला नै हुनुपर्ने बताए । ‘उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने खालको आयोगको वक्तव्य संविधान र कानुनअनुसार नै भएको देखिन्छ । त्यहाँ महिला वा अन्य समुदायको भनिएको छ । अहिले निर्वाचित हुनुभएको राष्ट्रपति खस–आर्यको तर्फबाट र लिंगको हिसाबमा पुरुष हुनुहुन्छ । त्यसबाहेक महिला वा फरक समुदायको भनिएको छ । यो ठीक छ,’ उनले भने ।