लालबहादुर शास्त्री सादा जीवन उच्च विचारका लागि विख्यात छन् । त्यतिखेर शास्त्री भारतका रेलमन्त्री थिए । एकपटक उनी व्यक्तिगत कामले कतै जाँदै थिए । उनी व्यक्तिगत काममा कतै जाँदा सरकारी सेवा सुविधामा पाएको सवारीसाधन प्रयोग गर्दैनथे । त्यस्तो वेलामा उनी सार्वजनिक सवारीसाधनकै प्रयोग गर्ने गर्थे ।
एकपटक आफ्नो व्यक्तिगत काममा उनी रेलयात्रा गर्दै थिए । सहयोगीले उनका लागि पहिलो श्रेणीको डब्बाको टिकट ल्याइदिएका थिए । तर, जब उनी आफ्नो टिकटअनुसारको डब्बामा पुगे, उनले आफ्नो सिटमा एकजना बिरामी सुतिरहेको देखे । उनलाई ती बिरामीलाई हटाएर आफू त्यहाँ बस्न ठीक लागेन । त्यसपछि उनले ती बिरामीसित उनको टिकट मागे र आफ्नो टिकट उनलाई दिए । अनि, ती बिरामीको टिकटअनुसारको तेस्रो श्रेणीमा गएर बसे । उनलाई निद्रा लागिरहेको हुनाले एउटा कम्बल ओढेर उनी सुते । एकैछिनमा उनी भुसुक्क निदाए ।
केहीबेरपछि टिकट निरीक्षक आए । यात्रु सुतिरहेको देखेपछि उनले हप्काउँदै उनलाई उठाए । निरीक्षकको आवाज सुनेर शास्त्री ब्युँझिए । शास्त्रीलाई देख्नासाथ ती टिकट निरीक्षकको सातो गयो । होचा कदका रेलमन्त्री शास्त्रीलाई उनले चिनिहाले । उनले हत्तपत्त माफी माग्दै उनलाई पहिलो श्रेणीको डब्बामा पुर्याइदिने बताए । उनको त्यस्तो आग्रहपछि शास्त्रीले भने, ‘अरे भाइ, तपाईं किन मेरो निद्रा बिथोल्दै हुनुहुन्छ ? मलाई मजाले सुत्न दिनुहोस् । मलाई निद्रा लागिरहेको छ ।’ यति भनेपछि शास्त्री फेरि कम्बल ओढेर सुते ।