गुल्मीका रुरु क्षेत्र र छत्रकोट गाउँपालिकामा उखुको राम्रो उत्पादन छ । गुडले रुरु र छत्रकोटसँगै जिल्लाकै पहिचान बनाएको छ । विशेष गरेर थोर्गेली गुडले राम्रो बजार बनाएको छ । उखुको काम र व्यापार बाह्रैमास हुन्छ । उखुबाट रस, खुदो र गुड उत्पादन हुने भएकाले मंसिरदेखि चैतसम्म किसानलाई अर्को काम गर्ने फुर्सद मिल्दैन ।
रुरुक्षेत्र गाउँपालिका– ३ थानपतिका ५४ वर्षीय चोलानाथ ज्ञवाली बिहान ५ बजेदेखि राति १० बजेसम्म उखुको काममा व्यस्त छन् । ज्ञवालीले आफ्नो र अरूकोमा गरेर ५० रोपनीमा उखु रोपेका हुन् । पुख्र्यौली पेसा थामेका ज्ञवालीले वर्षमा २८ लाख रुपैयाँसम्मको कारोबार गर्छन् । सिजनमा १२ देखि १८ र नियमित काम गर्ने पाँचजना कामदार छन् । केही वर्षअघिसम्म गोरुले उखु पेल्नुपर्ने भएकाले अझै धेरै श्रमिक हुन्थे ।
चोलानाथले श्रीमती मायादेवीसँगै वर्षभरि उखुको काम गर्छन् । वर्षमा खर्च कटाएर आठ लाखभन्दा बढी आम्दानी हुने ज्ञवालीले बताए । गुड प्रतिकिलो दुई सय २० र खुदो प्रतिलिटर एक सय ७० रुपैयाँमा घरबाट व्यापार भएको छ । ‘बजार र मूल्यको कुनै समस्या छैन । गुडको माग थेग्न उत्पादन विस्तार गर्नुपर्छ,’ उनले भने, ‘मैले वर्षमा खर्च कटाएर आठ लाखभन्दा बढी आम्दानी गर्दै आएको छु ।’
त्यस्तै, गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर– ४ दिगामका हुमनाथ पन्थले हरिओम केशर मिलमार्फत गुड र खुदोको कारोबार गर्छन् । उनले आफ्नै करिब आठ रोपनी जग्गामा उखु रोपेका छन् । एक्लै बजार थेग्न नसकेपछि अहिले आफूसँगै स्थानीय रामकृष्ण न्यौपाने, किरण न्यौपाने र जगदिश पाण्डेसँग संयुक्त रूपमा गुड तथा खुदोको कारोबार गरेका छन् ।
अहिले करिब सय रोपनीमा उखु रोपेका छन् । गाउँमा बाँझिएका जग्गा लिजमा लिएर उखुको कारोबार गरेको पन्थले बताए । आफूले व्यक्तिगत रूपमा बर्सेनि सातदेखि आठ लाख रुपैयाँ उखुबाट कमाइ गरेको पन्थले बताए । अहिले संयुक्त रूपमा कारोबार भएपछि दैनिक १७ जनालाई रोजगारीसमेत दिएका छन् ।
साढे चार करोडको उखु उत्पादन
रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले आफूहरूको पहिचान भएकाले उखु क्षेत्र विस्तार र प्रविधिको क्षेत्रमा काम गरिने बताए । उनले कृषि ज्ञान केन्द्र र प्रदेशमा पनि उखु क्षेत्र विस्तारका लागि पहल गरिरहेको ज्ञवालीले बताए । कृषि ज्ञान केन्द्रले रुरुक्षेत्रको वडा नम्बर ३ र ४ तथा छत्रकोट वडा नम्बर ४ लाई उखु ब्लकका रूपमा विस्तार गरेको छ ।
ज्ञान केन्द्रले बिउ, उपकरण, प्रशोधन र प्याकेजिङमा सहयोग गरिरहेको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । दुई पालिकामा गरेर एक सय ७२ हेक्टरमा चार सय २८ घरधुरी ब्लगमा आबद्ध छन् । अहिले चार करोड ५० लाखबराबरको उखु उत्पादन हुने र एक करोढ ९० लाखबराबरको गुड तथा खुदो निर्यात हुने अनुमान रहेको भण्डारीले बताए ।
उनले अब उखुको उत्पाकत्व वृद्धि र उत्पादनको विविधीकरणमा जोड दिनुपर्ने बताए । जिल्ला समन्व समिति प्रमुख द्रोण खत्रीले स्थानीय तह र सम्बद्ध कार्यालयले कृषि अनुदान भूगोल र आवश्यकताका आधारमा मात्र वितरण गर्न सुझाव दिए । धेरै पालिकामा कृषिप्रति युवा ऊर्जा नदेखिएका कारण उखु, सुन्तला, आलु, कफी र पशुपालनमा राम्रो गरेका ठाउँमा मात्रै काम गर्नुपर्नेमा जोड दिए ।