स्कुटर र मोटरसाइकल ठोक्किँदा मृत्यु हुनेको संख्या दुई पुग्यो

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ हटियास्थित कठायत चोकमा स्कुटर र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।

बुधबार बिहान भएको दुर्घटनामा घाइते भएकी स्कुटरचालक नुवाकोट ककनी गाउँपालिका– ४ की २८ वर्षीया जीना लामाको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो। हेटौँडामा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइएको थियो।

यसअघि दुर्घटनामा परी घाइते भएका मोटरसाइकलचालक हेटौँडा– १८ भालुखोलाका १८ वर्षीय अर्जुन बम्जनको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो।

सो दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन्। स्कुटरमा सवार मकवानपुरको बागमती गाउँपालिका– ८ शान्तिपुरकी ललिता मगर र मोटरसाइकलमा सवार हेटौँडा– १८ भालुखोलाका सुजन घलान घाइते भएका छन्।

घाइतेमध्ये सुजनको हेटौँडा अस्पताल र ललिताको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विक्रम खड्का मगरले जानकारी दिए।

बुधबार बिहान  हेटौँडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा.६४प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौँडातर्फ आउँदै गरेको बा. प्र. ०३–०५ प ७११ नम्बरको स्कुटर एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो।

सुझावित समाचार