‘प्रविधिको प्रयोगले महिला नै बढी पीडित’

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागिपर्ने प्रतिबद्धता जनाएकी छिन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानुन र विकास मञ्च एवं इक्विलिटी नाउले मंगलबार आयोजना गरेको ‘मबाट महिलावाद’ विषयक कार्यक्रममा उनले संविधानमा व्यवस्था गरेर पनि आमाका नामबाट नागरिकता नपाएको विषयलाई आफूले गम्भीर रूपमा लिएको बताइन् ।

साइबर अपराधका उजुरी काठमाडौमा मात्र दर्ता हुँदा समस्या आएको गुनासा धेरै जिल्लाबाट आएको उल्लेख गर्दै उनले गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै सहजताको व्यवस्था गराउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रविधिको प्रयोगले महिला नै बढी पीडित भएका घटना आएकाले यसमा सजगता अपनाउन पनि उनले आग्रह गरिन् । महिला हिंसाका घटनामा महिला दह्रो भए कसैको केही नचल्ने अनुभव सुनाउँदै उपाध्यक्ष अर्यालले महिलाबाट पुरुषलाई पनि हिंसा भएका घटना आउन थालेकाले कसैप्रति पनि हिंसा नहुने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

अधिवक्ता नेहा गुरुङले महिलाले आफू सुरक्षित हुन कानूनी ज्ञान राख्नुपर्नेमा जोड दिइन् । कानूनकी विद्यार्थी यशोदा चन्दले प्रविधिले निम्त्याएको विकृति विषयमा कविता पाठ गरेकी थिइन् । प्रविधिले महिला, किशोरी र बालिकामा पारेको नकारात्मक प्रभावका विषयमा सचेतनामूलक नाटक पनि सो अवसरमा प्रस्तुत गरिएको थियो । ८ मार्चका अवसरमा बुधबार विश्वभर ‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ । 

सुझावित समाचार