चिकित्सा शिक्षाका १४ कार्यक्रम : ७,६५९ सिटका लागि ३६,७३४ ले परीक्षा दिँदै, २४५ विदेशी विद्यार्थी

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

चिकित्सा शिक्षाको स्नातक तहका कार्यक्रममा भर्नाका लागि ३६ हजार सात सय ३४ विद्यार्थीले एकीकृत परीक्षा दिँदै छन् । कुल विद्यार्थीमध्ये दुई सय ४५ विदेशी विद्यार्थी छन्, जसमा सबैभन्दा धेरै भारतका छन् ।

चिकित्सा शिक्षा आयोगले यस वर्ष १४ कार्यक्रमका लागि सात हजार ६ सय ५९ सिट कायम गरेको छ । आयोगका सदस्यसचिव डा. भोजराज शर्मा काफ्लेका अनुसार चिकित्सा शिक्षाका स्नातक तहमा १४ कार्यक्रममध्ये सबैभन्दा बढी १३ हजार ६ सय ८१ जनाले एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा फारम भरेका छन् । आयोगले एमबिबिएसमा एक हजार आठ सय ९५ सिट निर्धारण गरेको छ । 

त्यसैगरी बिएस्सी नर्सिङमा ६ हजार दुई सय ७७, बिडिएसका लागि पाँच हजार ३१ जना प्रवेश परीक्षामा सहभागी हुँदै छन् । बिएस्सी नर्सिङमा एक हजार तीन सय ५०, बिएनएसमा एक हजार तीन सय १० सिट निर्धारण भएका छन् । आयोगले सबैभन्दा कम बी पर्फुजियन टेक्नोलोजीमा पाँच र बिएएसएलपीमा ६ सिट निर्धारण गरेको छ । 

एकीकृत परीक्षामा छिमेकी भारतदेखि संयुक्त राज्य अमेरिकासम्मका नागरिक सहभागी हुँदै छन् । सबैभन्दा धेरै एमबिबिएस अध्ययनका लागि विदेशबाट आएका छन् भने तीमध्ये भारतीय नागरिक धेरै छन् । भारतबाट दुई सय १०, श्रीलंकाबाट चार, माल्दिभ्सबाट तीन, म्यानमार र युएसएबाट एमबिबिएस अध्ययनका लागि एक–एकजना विद्यार्थी आएका छन् । 

एमबिबिएसबाहेकका विषयमा पनि विदेशबाट विद्यार्थी आएका छन् । बिएस्सी नर्सिङमा आठ, बिडिएसमा ६, बिएएमएसमा तीन, बिएनएसमा एक, बिएस्सी–एमएलटीमा चार, बिफार्ममा तीन र बिपिएचमा एकजना विदेशी विद्यार्थी आएका छन् । 

एकीकृत प्रवेश परीक्षामा अघिल्लो वर्षभन्दा धेरै विद्यार्थी सहभागी भएका छन् । अघिल्लो वर्ष झन्डै ३५ हजार स्नातक तकको एकीकृत परीक्षामा सहभागी भएकामा सबैभन्दा बढी एमबिबिएसमा आवेदन दिएका थिए । अहिले एकीकृत परीक्षा पाँच दिन तोकिएको छ भने १४ विषयमध्ये विद्यार्थीले चाहेका पाँच विषयमा परीक्षा दिन पाउने व्यवस्था छ । 

चिकित्सा शिक्षा ऐन, २०७५ कार्यान्वयन हुन थालेपछि चिकित्सा शिक्षा आयोगले एमबिबिएस, नर्सिङलगायत स्नातक तहका चिकित्सा शिक्षाका कार्यक्रमको भर्नाका लागि एकीकृत प्रवेश लिन सुरु गरेको हो । 

ऐनअनुसार चिकित्सा शिक्षाको अध्यापन हुने सार्वजनिक शैक्षिक संस्थामा ७५ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँदै छन् । अन्य निजी शैक्षिक संस्थाले नेपाली लगानी भएकाले १० र विदेशी लगानी भएका शैक्षिक संस्थाले २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । 

सुझावित समाचार