कोहलपुरमा ‘ला टोमाटिना’सँगै गोलभेँडाकै रंगले होली [तस्बिरसहित]

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

कोहलपुरमा पहिलोपटक गोलभेँडाको रंगले होली खेलिएको छ। मंगलबार गोलभेँडाको रंगसँगै ‘गोलभेँडा उत्सव नेपाल– २०२३’ (ला टोमाटिना फेस्टिभल) आयोजना गरेर होली खेलिएको एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए।

बाँकेको कोहलपुरलाई पर्यटनको हब बनाउने उद्देश्यले ‘गोलभेँडा उत्सव नेपाल–२०२३’ आयोजना गरिएको उनले बताए। पर्यटकलाई आकर्षण गर्न विश्वका स्पेन, इटली र भारतका केही सहरमा गोलभेँडा पर्व मनाउने गरिएको बताउँदै उनले कोहलपुरलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटनको हब बनाउन मद्दत गर्ने जिकिर गरे।

‘भाइचारा, सद्भाव र रंगहरूको पर्व होलीजस्तै देखिने यो पर्वले स्वदेशी तथा विदेशी पर्यटकलाई बाँके भित्र्याउन सहज हुनेछ,’ उनले भने, ‘कोहलपुरलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यले गोलभेँडा उत्सव गरेका हौँ ।’ सेन्थेटिक रंगले पार्ने नकारात्मक प्रभावबाट उत्सवले केहि हदसम्म जोगाएको उनले बताए।

टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा कोहलपुर र बैजनाथ गाउँपालिकाका किसानबाट खरिद गरेको बाँके पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । ‘एकातिर किसानले उत्पादन गरेका गोलभेँडा खपत भएको छ । अर्कोतर्फ होली खेल्नेलाई सेन्थेटिक रंगले पार्ने नकारात्मक प्रभावबाट जोगाएको छ,’ उनले भने ।

कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरमा पर्यटकीय गन्तब्यको विकास र संस्कृतिको जगेर्ना गर्न उत्सवले सहयोग गर्ने बताए । ‘आफ्नै संस्कृति मनाउन आफ्नै करेसाबारीमा उत्पादित टमाटर, हलेदोलगायतको मिश्रणबाट रशायनयुक्त रंग र अविरलाई विस्थापित गरी गोलभेँडाको रंङ्गले होलीलाई उत्सवको रुपमा मनाउनु अत्यन्तै राम्रो कुरा हो,’ उनले भने ।

सुझावित समाचार