प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन्।
एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीको यस्तो जवाफ आएको हो। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले त्यहाँ स्थानीय तहले कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले जानकारी पाएको स्पष्ट पारे।
‘हिजोआज एउटा चर्चा भएको तपाईंहरूले सुन्नुभएको छ मुस्ताङकै विषयमा। मुस्ताङमा बौद्ध युनिभर्सिटी खोल्ने भन्ने कुरा पनि आयो। पक्कै पनि त्यहाँ स्थानीय तहबाट युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चा चाहिँ धेरै पहिलेदेखि भएको रहेछ। तर, नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति होइन,’ उनले भने।
ओलीको नाम नलिई प्रचण्डले आफूले सो विषयमा कसैलाई आरोप-प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए। प्रधानमन्त्री प्रचण्डले मुस्ताङ मात्रै नभएर मुलुकका विभिन्न भागमा धेरै प्रकारका प्राकृतिक स्रोतहरू रहेको उल्लेख गर्दै ठीक ढंगले उपयोग गर्न सके मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने प्रस्ट्याए।
गत शनिबार ओलीले युरेनियमका कारण मुस्ताङमा विश्वविद्यालय खोल्ने अनुमति दिएर प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका थिए। तर, उक्त अभिव्यक्तिको एमाले नेताले नै आलोचना गरेका थिए। एमाले गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टले विश्वविद्यालय खोल्ने विषयलाई राजनीतीकरण नगर्न ओलीलाइ आग्रह गरेका थिए।