न्युयोर्कमा भएको भागदौडमा दुईजनाको मृत्यु, आठ घाइते

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुईजनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो ।

सो भागदौडमा परेर अरू आठजना घाइते भएका यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रहरीले भागदौडमा परेका तीन महिला गम्भीर रूपमा घाइते भएको अवस्थामा उद्धार गरेको थियो । ती घाइतेमध्ये दुई महिलाको सोमबार अबेर राति मृत्यु भएको घोषणा गरिएको थियो । अर्की एक महिला गम्भीर अवस्थामा अस्पतालमा उपचाररत रहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले थप आठजना घाइते रहेका जनाएको छ । उनीहरूलाई घटनास्थलबाटै अस्पताल लगिएको थियो । कन्सर्ट हेरिरहेका मानिस कन्सर्ट सकिएपछि बाहिर निस्किने क्रममा भागदौड भएको थियो । गोली चल्न सक्ने भन्दै मानिसले हल्ला गरेपछि बन्दुकको डरले कन्सर्ट गर्नेहरू बाहिर निस्कने क्रममा आतंक मच्चिएको बताइएको छ । 

स्थानीय पुलिसले गोली चलाएको वा कसैलाई गोली हानेको वा छुरा प्रहार गरेको कुनै प्रमाण फेला नपरेको रोचेस्टर पुलिस विभागले सोमबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।प्रहरीले गरेको अनुसन्धानमा गोली चल्न सक्ने भन्ने होहल्ला भएकाले मानिस भागाभाग गरेको हुन सक्ने र त्यहाँ गोली भने नचलेको पाइएको छ । 

कन्सर्ट भएको हलबाट निस्किने क्रममा सानो ढोकाका कारण मानिस च्यापिएर र पेलिएर घाइते भएका पाइएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार