भावी राष्ट्रपति निर्वाचनका लागि दुई उम्मेदवार आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले सबैजसो दलसँग मत मागेका छन् । तर, मौन अवधिको पूर्वसन्ध्यासम्म संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कसलाई भोट दिने भन्नेबारे आफ्नो पोजिसन स्पष्ट गरेका छैनन् ।
राष्ट्रपति निर्वाचनमा रास्वपाको दुई हजार चार सय ५० र राप्रपाको एक हजार पाँच सय एक मतभार छ । यी दुवै दलका मत सुरक्षित गर्न पौडेल र नेम्वाङले भेटघाट गर्दै मत दिन आग्रह गरिसकेका छन् । तर, रास्वपा र राप्रपाका नेताले पौडेल र नेम्वाङ कसैलाई पनि ठोस वचन दिएका छैनन् । दुवै उम्मेदवारले ती दलका मत आफूलाई आउने अपेक्षा गरेका छन् ।
रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेकाले उसले गठबन्धनका उम्मेदवार पौडेललाई मत दिने आठ दलका नेताहरूको विश्वास छ । सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिए पनि राप्रपा एमालेको उम्मेदवारको समर्थक र प्रस्तावक नरहेकाले उसले पनि आफूहरूलाई मत दिने आठदलीय गठबन्धनको अपेक्षा छ ।
अर्कोतर्फ सुरुमा रास्वपालाई गृह मन्त्रालय दिलाउन र रवि लामिछानेको राजीनामापछि पुनः सो मन्त्रालय उसैलाई दिनुपर्ने अडान लिएकाले रास्वपाले आफ्नो उम्मेदवारलाई मत दिने एमालेको विश्वास छ । गत मंसिरको निर्वाचन मिलेर लडेको र अहिले दुवै दल सरकारबाहिर रहेकाले राप्रपाले पनि सहयोग गर्ने एमालेको बुझाइ छ ।
२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदै छ भने राप्रपाले एक दिनअघि र रास्वपाले निर्वाचनकै दिन टुंगो लगाउने तयारी गरेका छन् । स्रोतका अनुसार रास्वपा नेताहरूले गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने गरी परामर्श गरेका छन् । यसबाहेक राप्रपाभित्र ‘नो भोट’ वा गठबन्धनका उम्मेदवारलाई मत दिने दुई विकल्पमा छलफल जारी छ ।
त्यसैबीच राष्ट्रपति निर्वाचनका लागि कांग्रेस नेतृत्वको गठबन्धनले मौन अवधिको पूर्वसन्ध्यामा सबै दलसँग मत मागिसकेको छ । गठबन्धनका उम्मेदवार पौडेलसहित गठबन्धनका नेताले प्रत्यक्ष रूपमा भेटेर र विभिन्न माध्यमबाट मत मागेका हुन् । पौडेलले सोमबार एमालेसँग समेत मत मागेका छन् ।
आफूले एमालेसहित सबै दलसँग मत मागेको र आफ्नो पक्षमा सकारात्मक रहेको बताए । ‘मैले ओलीजीसहित सबै दलसँग मत मागेको छु । सबै दल सकारात्मक रहेको पाएको छु । ओलीजी समेत मेरो पक्षमा सकारात्मक रहेको पाएको छु । सबै दलबाट सकारात्मक जवाफ आएको छ,’ पौडेलले नयाँ पत्रिकासँग भने । पौडेलले उम्मेदवारी दर्ता अघिबाटै आफ्नो पक्षमा मतका लागि आग्रह गर्दै आएका थिए ।
१३ फागुनमा राष्ट्रपतिमा उम्मेदवारी दर्ताअघि पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेलाई निवासमै पुगेर सघाउन आग्रह गरेका थिए । १७ फागुनमा पौेडेलले प्रतिस्पर्धी सुवास नेम्वाङसहित राष्ट्रपतिमा मतदान गर्ने सबै सांसदलाई पत्र लेखेर मत मागेका थिए । १९ फागुनमा पौडेलसहितका कांग्रेस नेताले वसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर औपचारिक रूपमा राष्ट्रपतिमा मत दिन आग्रह गरेका थिए ।
कांग्रेस मुख्य सचेतक रमेश लेखकले स्वतन्त्र पार्टीबाट सकारात्मक जवाफ आएको र आफूहरू आशावादी रहेको बताए । जवाफमा स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीमा छलफल गरेर निर्णय लिने बताएका थिए । ‘हामीले स्वतन्त्र पार्टीसँग मत मागेका छौँ । उहाँहरूबाट सकारात्मक जवाफ आएको छ । यद्यपि, पार्टीमा छलफल गरेर निर्णय लिने भन्नुभएको छ । हामी आशावादी छौँ,’ उनले नयाँ पत्रिकासँग भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालले राष्ट्रपति निर्वाचनको दिन मात्रै निर्णय लिने बताए । उनले पार्टीमा छलफल गरेर अवस्थाअनुकूल निर्णय लिने बताए । ‘दुवै उम्मेदवारले हामीसँग मत दिन आग्रह गर्नुभएको छ । पार्टीमा कसलाई मत दिने भनेर ठोस छलफल भएको छैन । राष्ट्रपति निर्वाचनको दिन नै छलफल गरेर निर्णय लिनेछौँ । अवस्थालाई हेरेर हामी निर्णय लिनेछौँ,’ उनले नयाँ पत्रिकासँग भने ।
त्यस्तै, सोमबार (२२ फागुन)मा राप्रपासँग मत मागेको थियो । पौडेलका साथ आठदलीय गठबन्धनका नेताहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर थिए । पौडेलले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर मत मागेका थिए । जवाफमा राप्रपाले पार्टीमा छलफल गरेर निर्णय लिने बताएको छ ।
भेटमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले राप्रपा सकारात्मक रहेको दाबी गरे । खड्काले राप्रपाले पार्टीमा थप छलफल गरेर निर्णय लिने जानकारी गराएको बताए । ‘मौन अवधिको पूर्वसन्ध्यामा राप्रपासँग छलफल भयो । मत दिन हामीले गरेको आग्रहलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ । पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जानकारी गराउनुभयो । आशा छ, उहाँहरूले पनि हामीलाई मत दिनुहुन्छ,’ उनले भने ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपा सबै विकल्पमाथि छलफल गरेर २४ फागुनमा टुंगोमा पुग्ने बताए । ‘राष्ट्रपतिका दुवै उम्मेदवारले हामीसँग मत माग्नुभएको छ । छलफलका लागि २४ फागुनमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छौँ । सबै विकल्पमाथि छलफल गरेर सोही दिन हाम्रो धारणा सार्वजनिक गर्छौँ,’ उनले भने ।
मौन अवधि सुरु
निर्वाचनअन्तर्गत आजबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार २५ फागुनमा हुने निर्वाचनको ४८ घन्टाअगाडि मौन अवधि लागू भएको हो । निर्वाचनको ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहितामा व्यवस्था छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार मौन अवधि २२ फागुनको राति १२ बजेबाट लागू भएको हो । २५ फागुनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको कार्यतालिका रहेको छ ।