थप सात ठाउँमा सुक्खा बन्दरगाह बनाइँदै, चिनियाँ नाकातर्फ मात्रै पाँचवटा

हाल ६ सुक्खा बन्दरगाह सञ्चालनमा, दुई निर्माणको चरणमा

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण
थप सात ठाउँमा सुक्खा बन्दरगाह बनाइँदै, चिनियाँ नाकातर्फ मात्रै पाँचवटा

चोभार सुक्खा बन्दरगाह । फाइल तस्बिर : नयाँ पत्रिका

नेपाल इन्टरमोडल यातायात विकास समितिले थप सात ठाउँमा सुक्खा बन्दरगाह बनाउने भएको छ । नेपालमा हालसम्म ६ सुक्खा बन्दरगाह सञ्चालन र दुई बन्दरगाह निर्माणको चरणमा छन् । त्यसबाहेक सात ठाउँमा सुक्खा बन्दरगाह बनाउने गरी इन्टरमोडेल यातायात विकास समितिले अध्ययन अघि बढाएको हो । 

त्यसमध्ये चिनियाँ सीमानाकातर्फ मात्रै पाँचवटा सुक्खा बन्दरगाह बनाउने समितिको योजना छ । हाल चिनियाँ नाकातर्फ एउटा मात्रै (तातोपानी) सुक्खा बन्दरगाह सञ्चालनमा छ । साथै, रसुवामा चिनियाँ अनुदानमै एउटा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । अब त्यसबाहेक चिनियाँ सीमानाकामा पर्ने गरी थप पाँचवटा सुक्खा बन्दरगाह निर्माण गर्ने योजना अघि बढाइएको हो । 

त्यसमा नेचुङ (मुस्ताङ), ओलाङचुङगोला (ताप्लेजुङ), यारी (हुम्ला), किमाथांका (संखुवासभा) र तिनजेधो (डोल्डा)मा बन्दरगाह बनाउने गरी समितिले अध्ययन अघि बढाएको छ । समितिका अनुसार नेचुङ सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । अहिले उक्त बन्दरगाहको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने काम भइरहेको छ । 

यस्तै, ओलाङचुङगोला र यारी सुक्खा बन्दरगाहको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । हाल त्यसमा पूर्ण सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाइएको छ । यसका अलाबा किमाथांका सुक्खा बन्दरगाहको पूर्वसम्भाव्यता अध्ययन भइरहेको छ । तिनजेधो सुक्खा बन्दरगाहको पूर्वसम्भाव्यता अध्ययन गर्न हालै परामर्शदाता कम्पनी छनोट गरिएको समितिको भनाइ छ । 

यसैगरी, भारतीय सीमानाकातर्फ थप दुई ठाउँमा सुक्खा बन्दरगाह बनाउने प्रक्रिया अघि बढेको छ । हाल भारतीय सीमानाकातर्फ भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टामा सुक्खा बन्दरगाह सञ्चालनमा छन्, त्यसबाहेक नेपालगन्जमा भारतीय अनुदानमै सुक्खा बन्दरगाह बनाउने काम भइरहेको छ । अब त्यसबाहेक जलेश्वर (महोत्तरी) र दोधरा–चाँदनी (महेन्द्रनगर)मा नयाँ बन्दरगाह बनाउने समितिको योजना छ । त्यसमा जलेश्वर सुक्खा बन्दरगाहको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । यसका दोधरा–चाँदनी सुक्खा बन्दरगाहको भने भारतीय सरकारले नै अध्ययन गरिरहेको छ । 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले थप सात सुक्खा बन्दरगाह बनाउने गरी अध्ययन भइरहेको बताए । ‘कतिपय सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । कतिपय भने अध्ययनको चरणमा छन्,’ उनले भने, ‘त्यो अध्ययन सम्पन्न भएपछि के–कसरी बढाउने भनेर सरकारसँग छलफल गरी अघि बढ्नेछौँ । लगानी तथा निर्माणको मोडालिटी पनि त्यसवेला नै टुंगो लाग्नेछ ।’

 उत्तर–दक्षिण लोकमार्ग बनेपछि मात्रै चिनियाँतर्फको बन्दरगाह
आयोजनाअनुसार गरिएको छुट्टाछुट्टै पूर्वसम्भाव्यता अध्ययनले चिनियाँ नाकातर्फको बन्दरगाह भने तत्काल बनाउन नहुने निष्कर्ष निकालेको छ । उत्तर–दक्षिण लोकमार्ग (कोसी, कालीगण्डकी र कर्णाली) करिडोर बनेपछि मात्रै उक्त सुक्खा बन्दरगाह बनाउँदा उपयुक्त हुने पूर्वसम्भाव्यता अध्ययनले देखाएको हो । 

चिनियाँ नाकातर्फका प्रस्तावित सुक्खा बन्दरगाह बन्ने ठाउँमा अझै पनि सडक पुगिसकेको छैन । पुगेका ठाउँमा पनि कच्ची सडक छन् । नेपाल सरकारले अघि बढाएका उत्तर–दक्षिण लोकमार्ग तयार भएपछि मात्रै उक्त ठाउँमा पक्की सडक पुग्छन् । साथै, त्यसपछि मात्रै त्यस ठाउँबाट वैदेशिक व्यापार गर्न सकिन्छ । सोहीअनुसार उत्तर–दक्षिण आयोजना बनेपछि मात्रै उक्त सुक्खा बन्दरगाह बनाउनुपर्ने देखिएको अध्ययनमा सहभागी इन्जिनियर शोभाकान्त राउतले बताए । 

‘अध्ययनले चिनियाँ नाकातर्फ थप सुक्खा बन्दरगाहको आवश्यकता देखाएको छ । साथै, प्रस्तावित सुक्खा बन्दरगाह पनि बन्न सक्ने सम्भावना देखाएको छ । तर, त्यो ठाउँमा गुणस्तरीय सडक सञ्जाल भने पुगिसकेको छैन,’ उनले भने, ‘तसर्थ, उत्तर–दक्षिण लोकमार्ग बनेपछि मात्रै उक्त सुक्खा बन्दरगाह बनाउँदा राम्रो हुने देखिएको छ ।’ यस्तै, समितिका कार्यकारी निर्देशक गजुरेलले उक्त बन्दरगाह बनाउन सकेमा चीनतर्फको वैदेशिक व्यापार सहज हुने बताए ।

 चीनतर्फको व्यापार सहज हुनेछ
आशिष गजुरेल, कार्यकारी निर्देशक,नेपाल इन्टरमोडल यातायात विकास समिति

सुक्खा बन्दरगाहलगायतका पूर्वाधार नहुँदा अहिले चीनसँग गरिने वैदेशिक व्यापार त्यति सहज छैन । यदि, हामीले अध्ययन गरिरहेको सुक्खा बन्दरगाह बन्यो भने चीनतर्फको व्यापार निकै सहज हुन्छ । तसर्थ, यो आयोजना बन्न आवश्यक छ । यद्यपि, पूर्ण रूपमा अध्ययन अझै सकिएको छैन । त्यो अध्ययन सकियो भने अध्ययनको निष्कर्षअनुसार आयोजना निर्माणको प्रक्रिया अघि बढाउँछौँ ।  

सुझावित समाचार