सरकारले भन्यो– मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय छैन

‘परराष्ट्र नीतिमाथि नै आँच पुर्‍याउने गरी तथ्यहीन अभिव्यक्ति आउनु दुःखद’

सोमबार, २२ फागुन, २०७९
डिजिटल संस्करण

सरकारले मुस्ताङको बारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा कुनै अमुक देशको प्रस्तावमा अर्काे देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना थालेको भन्ने पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ । ओलीले ‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली र राष्ट्रियतामाथिको प्रहार एवं चीनमाथिको गद्दारी हो’ भनेको भोलिपल्ट सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले विज्ञप्तिमार्फत खण्डन गरेकी हुन् । 

‘मुस्ताङको बारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा अर्को कुनै देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न लागेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यससम्बन्धी (विश्वविद्यालय खोल्ने) कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौँ ।’ देशको परराष्ट्र नीतिमाथि नै आँच पुर्‍याउने गरी तथ्यहीन अभिव्यक्ति आएको सरकारको भनाइ छ । 

‘सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय शृंखलाबद्ध रूपमा सार्वजनिक हुनु दुःखद छ । परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन,’ मन्त्री शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको र नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

बारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने विषयमा भने अध्ययन र आवश्यक छानबिन गरी सत्य–तथ्य सार्वजनिक गरिने सरकारले जनाएको छ । गाउँपालिका अध्यक्ष एमालेबाट निर्वाचित रिङजिन नामगेल गुरुङ छन् ।

 २० फागुनमा काठमाडौंंमा आयोजित ‘स्थानीय तह कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए–
मुस्ताङमा विश्वविद्यालय भनेको के हो ? मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनमाथिको गद्दारी हो, गर्न खोजेको । ०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोज्या हो, राष्ट्रको सार्वभौम सत्तालाई अस्वीकार गरेको (आफ्नै राष्ट्रको सार्वभौमसत्ता), स्वाधीनतालाई अस्वीकार गरेको हो । विश्वविद्यालय बनाउन खोज्या हो र त्याँ ? विश्वविद्यालयका नाममा अन्य चलखेल गर्न खोजेको हो ।

विदेशीहरूको खेलमैदान बनाउन खोजिएको हो, त्यहाँको युरेनियम त्यसमा ध्यान दिएको हो । त्यहाँबाट पहिले ०३१ सालमा वाङ दी अघि बढाइएको थियो । त्यस समयमा चामेभन्दा तल थियो, मार्फाको छेउमा । अहिले लोमान्थाङभन्दा माथि लैजान खोजिएको हो, जहाँ मान्छे छैन त्यहाँ विश्वविद्यालय ? जहाँ खास उद्देश्यका पेड मान्छेहरू बस्छन् त्यहाँ विश्वविद्यालय ? र, यो एउटा बहुतै खतरनाक कुरा हो, यसका सन्दर्भमा हामी लड्नुपर्छ र विरोध गर्नुपर्छ ।
 

सुझावित समाचार