युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवान्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा पपुवान्युगिनी विजयी भएको छ।
शृंखलाको आफ्नो अन्तिम खेलमा पपुवान्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो। पपुवान्युगिनीसित युएई घरेलु मैदानमा लगातार पराजित भएको हो।
टस जितेर पपुवान्युगिनीले फिल्डिङ राजेको थियो। निर्धारित ५० ओभरको खेलमा युएईले २६ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ९७ रन बनायो। यस्तै, ९८ रनको विजय लक्ष्य पपुवान्युगिनीले २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
पपुवान्युगिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५ तथा सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए। बलिङतर्फ युएईका रोहन मुस्तफाले दुई विकेट लिए।
यसअघि ब्याटिङ गर्ने क्रममा युएईका भृत्य अरबिन्दले २६, मुहमद वासिमले १९, आसिफ खानले ११ तथा चुनदांगापोयल रिजवानले १० रन बनाए। बलिङतर्फ पपुवान्युगिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चार्ल्स अमिनीले एक विकेट लिए। योसँगै युएईले ३१ खेलबाट ३१ अंक जोडेको छ।
युएई लिगको पाँचौँ स्थानमा कायमै छ। नेपाल लिगको छैटौँ स्थानमा छ। नेपालले ३१ खेलबाट ३० अंक जोडेको छ। पपुवान्युगिनीले ३२ खेलबाट मात्र नौ अंक जोडेको छ। पपुवान्युगिनी लिगको पुछारमा छ। शृंखलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ।