आकर्षक व्यक्तित्व : मोडलिङमा शारीरिक बनावट (फिगर)लाई विशेष महत्व दिइन्छ । यसका लागि फिटनेसमा यान दिनुपर्छ । सधैँ फिट रहन खाना, व्यायाम र जिमदेखि जीवनशैलीसम्ममा विशेष ध्यान दिनुपर्छ । साथै, छाला र कपालको सौन्दर्य पनि कायम राख्नुपर्छ ।
मिहिनेत : सफल हुनुको पछाडि मिहिनेतको ठूलो भूमिका रहन्छ । नेपालमा मोडल बन्न अझै अप्ठ्यारो छ । तसर्थ, काममा कडा परिश्रम र मिहिनेत गर्न एकदमै जरुरी छ । मोडलिङले हजारौँ विषय समेट्ने भएकाले यसमा भएका प्रत्येक विषवस्तुप्रति जानकार रहनुपर्छ । यद्यपि, आफ्नो इच्छाशक्तिलाई मिहिनेतमा बदल्ने हो भने सफल मोडल बन्न सकिन्छ ।
बौद्धिकता : मोडलिङमा ‘ब्रेन विथ ब्युटी’ सूत्र धेरै हदसम्म लागू हुने गर्छ । एउटा मोडल शारीरिक सौन्दर्यमा मात्र सीमित नभई उसमा आवश्यक ज्ञान पनि हुन आवश्यक छ । समाजमा भइरहेका देशको इतिहास, समाजको गति र परिवेशको ज्ञान हुनुपर्छ । यसबाहेक आफ्नो पेसाप्रतिको ज्ञान अत्यावश्यक छ ।
मिलनसार : एउटा मोडलले कोरियोग्राफर, फोटोग्राफर, फेसन डिजाइनरदेखि कलाकारिता विधाका मानिससँग मिलेर काम गर्नुपर्ने हुन्छ । यसर्थ, सफल हुनलाई यी सबै व्यक्तित्वसँग मिल्न सक्नुपर्छ । त्यस्तै, मोडललाई समाजमा सेलेब्रिटीको नजरले पनि हेरिने भएकाले उसको स्वभाव मिलनसार हुन आवश्यक छ । सुरुवाती समयमा अझ आवश्यक छ ।