जसपामा अन्तर्घात : अध्यक्ष उपेन्द्र यादवलाई हराउन २० जनाले अन्तर्घात गरेको आन्तरिक प्रतिवेदन

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

जसपाको आन्तरिक छानबिनमा अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधिसभा निर्वाचनमा हराउन पार्टीकै २० नेता–कार्यकर्ताले अन्तर्घात गरेको प्रतिवेदन तयार पारेको छ । छानबिन समिति संयोजक शिवलाल थापा मगरको प्रतिवेदनमा अन्तर्घात गर्नेहरूमा संघदेखि प्रदेश सभाका सांसदसम्म छन् ।

गत १८ र १९ पुसमा बसेको जसपाको राजनीतिक समितिको बैठकबाट गठन भएको छानबिन तथा कारबाही सिफारिस समितिले ४२ दिनको स्थलगत अध्ययनपछि प्रतिवेदन तयार पारेको हो । अध्ययनमा सबै ठाउँमा गरेर ८० नेता–कार्यकर्ताले अन्तर्घात गरेका छन् । प्रतिनिधिसभामा यसपटक जसपा १२ सिटमा खुम्चिएको छ । 

जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी १ मा भारी मतान्तरले पराजित यादवको हारको कारणबारे पनि समितिले स्थलगत छानबिन गरेको थियो । संयोजक थापामगरका अनुसार छानबिनमा करिब २० जनाले यादवलाई हराउन अन्तर्घात गरेको देखिएको छ ।

‘अध्यक्ष लडेको क्षेत्रबाट ३८ जना नेता–कार्यकर्ताको नाम कारबाहीका लागि सिफारिस भएको थियो । छानबिनमा २० जनाको अन्तर्घातमा संलग्नता पुष्टि भयो’, उनले भने, ‘अध्यक्षलाई निर्वाचन क्षेत्रमा उठ्नैपर्छ भनेर दबाब दिनेहरूले नै षड्यन्त्र गरेको पनि पाइयो । राष्ट्रिय–अन्तर्राष्ट्रिय चलखेलका आधारमा नेता–कार्यकर्ता पैसामा बिक्री भएको पनि देखियो । अन्तर्घात पुष्टि हुने अडियो, भिडियो, फोटो, बयान सबै प्रमाण प्राप्त भएका छन् ।’ 

समितिले अन्तर्घात गर्नेलाई कारबाहीको सिफारिससहित शनिबार अध्यक्ष यादवलाई प्रतिवेदन बुझाएको छ । ‘निर्वाचनमा अन्तर्घात भएको भन्दै विभिन्न १४ जिल्लाबाट १५२ जनाको नाम केन्द्रमा आएको थियो,’ संयोजक थापामगरले भने, ‘स्थलगत छानबिनमा प्रमाणका आधारमा ८० नेता–कार्यकर्तालाई कारबाही गर्नुपर्ने देखियो । १५२ जना आरोपीबाहेक थप २४७ जनासँग बयान लिँदा ८० जनाले अन्तर्घात गरेको स्पष्ट देखियो ।’ 

See More On

सुझावित समाचार