सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकालगायत देशका ठूला सहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छिन्।
शनिबार प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा उनले स्थानीयको गुनासो चेतावनीमा परिणत हुनअघि नै तार व्यवस्थापनमा जुट्नुपर्ने प्रस्ट पारिन्। ‘ललितपुर महानगरपालिकामा स्थानीयले पुरातात्विक क्षेत्रमा तार व्यवस्थापन नगरे आफूहरूले काट्ने चेतावनी दिनुभएको रहेछ। चेतावनीपछि सेवा प्रदायक संस्थाले सात दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको छ,’ उनले भनिन्।
प्राधिकरणलाई आवश्यक कानुन र नियमावली बनाउन मन्त्रालय लागि परेको बताउँदै मन्त्री शर्माले तत्काल गर्न सकिने कामका लागि सरोकारवालालाई जुट्न आग्रह गरिन्। ‘आवश्यकताअनुसार सेवा प्रदायक संस्थाको सहकार्य र समन्वयमा तत्काल गर्न सकिने काम सुरु गरौँ,’ उनले भनिन्।