आठदलीय गठबन्धनका नेताहरूले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन कोसी प्रदेशका सांसदहरूलाई निर्देशन दिएका छन् ।
विराटनगरमा प्रदेश सांसदहरूको संयुक्त भेला आयोजना गर्दै गठबन्धनमा सामेल कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलगायतका केन्द्रीय नेताहरूले इमानदारपूर्वक मत दिएर पौडेललाई जिताउन निर्देशन गरेका हुन् । माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रहित र लोकतन्त्रको रक्षाका लागि जसरी पनि पौडेललाई जिताउनुपर्नेमा जोड दिए ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र र संघीयताको दिगो प्रवर्द्धनका लागि पौडेललाई राष्ट्रपतिमा विजयी गराउनुको विकल्प नभएको बताए । एकीकृत समाजवादीका कोसी प्रदेश सचिव महेश रेग्मीले लोकतन्त्रवादी शक्ति पराजित भएमा देशमा प्रतिगमन हाबी हुने भन्दै पौडेललाई जिताउनैपर्ने जिकिर गरे ।
नेताहरूले कसैले दायाँबायाँ गरेर फ्लोरक्रस गरे स्पटमै कारबाही हुने चेतावनीसमेत दिएका छन् ।
कोसी प्रदेशमा आठदलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवारलाई मत दिन पाउने कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जनता समाजवादीका एक सांसद छन् । अर्का उम्मेदवार सुवास नेम्वाङलाई मत दिने एमालेको गठबन्धनमा एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।