कर्जा निक्षेपकर्ताको सम्पत्ति हो, नतिर्न दबाब समूह बनाउनु गलत : डेपुटी गभर्नर मिश्र

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले लघुवित्तका कर्मचारीमाथि मोसो दल्ने हर्कतले समाज विभाजित गर्ने बताए । दबाब समूह बनाई मोसो दल्ने दस्ता बनाउँदैमा कर्जा नतिरे हुन्छ भन्ने परिकल्पना नगर्न उनले आग्रह गरेका छन् ।

‘कर्जा नतिर्नुहोस् भनेर कसैले क्याम्पेन गर्नुहुँदैन । यो गर्न नहुने काम हो । उद्योग, व्यापार, व्यवसाय मन्दीमा जान सक्छ,’ उनले भने, ‘बैंकको ब्याज वृद्धि हुन सक्छ र घट्न सक्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिवर्तन भएको कारण र पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका सेन्ट्रल बैंकहरूले ब्याज बढाएको कारण धेरै देशको आर्थिक अवस्थामा केही सकस पर्न गएको छ । त्यसको असर नेपालमा पनि परेको छ ।’

बैंक तथा वित्तीय संस्थाहरूले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरूको नभएर जनताको पैसा भएको डेपुटी गभर्नर मिश्रले प्रस्ट पारे । वित्तीय संस्थाबाट कर्जा लिनेहरूले समयमा नबुझाउँदा निक्षेपकर्ताले पैसा पाउन समस्या हुने उल्लेख गर्दै उनले ऋण तिर्दिनँ भन्नेहरूलाई कसैले पनि प्रोत्साहन दिन नहुने बताए ।

सुझावित समाचार