प्रेरक प्रसंग : पचासको नोट

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

एक व्यक्ति राति ढिलोसम्म अफिसमा काम गरेर थकित अवस्थामा घर पुगे । घरमा उनका पाँच वर्षका छोरा उनलाई कुरिरहेका थिए । पिता घरमा प्रवेश गर्नासाथ छोराले सोधे– बाबा म हजुरलाई एउटा प्रश्न सोध्न सक्छु ? पिताले भने– किन नसक्नु, सोध न ।

हजुर एक घन्टामा कति कमाउनुहुन्छ ? छोराले प्रश्न गरे । तिमीलाई किन चाहियो ? यस्ता वाहियात प्रश्न नसोध त मलाई । पिताले झर्किंदै भने । छोराले नम्रतापूर्वक भने– मलाई त्यत्तिकै जान्न मन लाग्यो र सोधेको हुँ बाबा, भन्नुहोस् न ! पिताले रिसाउँदै भने– सय रुपैयाँ ! छोराले पुनः प्रश्न गरे– बाबा, के हजुर मलाई ५० रुपैयाँ सापट दिन सक्नुहुन्छ ?

छोराको प्रश्नले पिता भड्किए । भनेपछि तिमी मसँग पैसा लिएर कुनै कामनकाजका सामान किन्न चाहन्छौ होइन ? म यहाँ कति दुःख गरेर पैसा कमाउँछु । तिमी भने बेकारमा उडाउन चाहन्छौ ? खुरुक्क आफ्नो कोठामा गएर सुत । पिताको कुरा सुन्दा बालकको आँखामा आँसु आयो । उनी चुपचाप आफ्नो कोठामा गएर खाटमा पल्टिए । केही समयपछि पिताको रिस शान्त भयो । उनलाई छोराले कुनै आवश्यक कामकै लागि पैसा मागेको होला भन्ने लाग्यो । उनलाई आफूले गल्ती गरेको पनि महसुस भयो । उनी छोराको कोठामा पसे । मसिनो आवाजमा सोधे– बाबु तिमी निदायौ ? छोराले जवाफ दिए– छैन । 

पिताले छोरालाई ५० रुपैयाँ दिए र भने– मैले तिम्रो चित्त दुखाएँ । त्यसका लागि मलाई माफ गर ल ! पैसा पाएपछि छोरा खुसी हुँदै उठे र दराजमा रहेको एउटा बट्टा निकाले । त्यसमा केही सिक्का थिए । उनी तिनै सिक्का गन्न थाले । पिताले भने– तिमीसँगै पैसा रहेछ त, तैपनि मसँग किन पैसा माग्यौ ? छोराले जबाफ दिए– किनकि, मसँग पैसा अपुग थियो । राम्ररी गनिसकेपछि ती सबै सिक्का हातमा लिएर छोराले पितालाई दिँदै भने– बाबा यो सय रुपैयाँ लिनुहोस् र भोलि साँझ एक घन्टा छिटो घर आउनुहोस् है । म हजुरसँगै बसेर खाना खान चाहन्छु । छोराका कुरा सुनेपछि पिताका आँखाबाट आँसु बग्न थाल्यो । उनले छोरालाई अँगालोमा कसे ।

सुझावित समाचार