चलचित्र पत्रकार संघबाट १८ पत्रकारले दिए राजीनामा

यौन दुर्व्यहारका आरोपित अध्यक्षमा निर्वाचित भएपछि सदस्यहरू असन्तुष्ट

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

यौन दुर्व्यवहारका आरोपी अध्यक्षमा निर्वाचित भएको भन्दै चलचित्र पत्रकार संघ नेपालका १८ सदस्यले सामूहिक राजीनामा दिएका छन् । 

संघको हिजो सम्पन्न २३औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । 

आठ महिनाअघि संघकी एक महिला सदस्यलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि तत्कालीन महासचिव बलामीले पदबाट राजीनामा दिएका थिए । २३औँ साधारणसभाबाट बलामी नै अध्यक्षमा निर्वाचित भएपछि संघमा क्रियाशील १८ सदस्यहरूले नैतिक प्रश्न उठाउँदै सामूहिक राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा नेपाल पत्रकार महासंघ एसाेसिएट प्रदेश अध्यक्ष बैकुन्ठराज पराजुली, स्वेच्छा राउत, सुशील पौडेल, पुष्पा थपलिया, संगीता गिरी, सम्झना उप्रेती रौनियार, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रीना माक्तान, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवी सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, सबिन ढकाल (टिकाराम) र संगीता श्रेष्ठ छन् । 

‘यौन दुर्व्यवहारको आक्षेप लागेर मुद्दा किनारा नलागिसकेको अवस्थामा बलामीकै नेतृत्वमा संघमा बसिरहन असुरक्षित, असहज र नैतिक रूपमा सकसको अवस्था भएकाले हामीले राजीनामा दिएका हौँ,’ उनीहरूले राजीनामापत्रमा उल्लेख गरेका छन् । 

बुधबार सम्पन्न अधिवेशनको बन्दसत्रमा आरोपितविरुद्ध प्रश्न उठाउँदा पनि उनको उम्मेदवारी दर्ता भएको थियो । संघकी साधारण सदस्यविरुद्ध यौन दुर्व्यवहारको मुद्दामा संघले छानबिन समिति नै गठन गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

सुझावित समाचार