राष्ट्रपति निर्वाचनका लागि आठ दलका सांसदलाई अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।
कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई आज राष्ट्रपति निर्वाचनकेन्द्रित अभिमुखीकरण कार्यक्रम सुरु भएको हाे।
दिउँसो १ बजे भनिएको कार्यक्रम एक घन्टा ढिलो गरी २ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा सुरु भएको हो।
कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसद सहभागी छन्।
अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्।
यस्तै, एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार छन्। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ।