१६ वर्षीया गर्भवती बालिकाले जीवनरक्षाको याचना गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी छिन् ।
उनले गत वर्षको चैतमा सुर्खेतस्थित कुर्मी भन्ने ठाउँका २० वर्षीय सागझेरी मगरसँग बालविवाह गरेकी हुन् । रोजगारीको खोजीमा भारत गएका उनका पति अहिले सम्पर्कविहीन छन् ।
उनले आफू सात महिनाको गर्भवती रहेको भन्दै दुई महिनापछि सुत्केरी हुने अवस्था आउने तर अहिले नै स्वास्थ्य कमजोर हुँदै गएको भन्दै जीवनरक्षाको माग गरेकी छिन् ।
उनले गर्भावस्थामा स्वास्थ्य परीक्षण गर्न नपाएको, स्वास्थ्य कमजोर हुँदै गएको तथा हेरचाहका लागि आफन्त कोही नभएको बताएकी छिन् ।
भिडियो सार्वजनिक भएपछि पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले सम्पर्क गरी आधारभूत सहयोगको गरिएको बताएकी छिन् । ती बालिकालाई उपाध्यक्ष शाहीले आफू बस्ने घरमा आश्रय दिएकी छिन् ।
उनकै पहलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पहिलोपटक गर्भजाँच भएको छ । त्यस क्रममा चिकित्सकले आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको बताएको शाहीले बताइन् ।
जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले आवास, पेस नेपाल जुम्लासँग समन्वय गरी गर्भवती बालिकालाई आवासको सेफ हाउसमा राख्ने पहल भइरहेको बताइन् ।
कनुकासुन्दरी गाउँपालिका महिला शाखा, र वडाको सिफारिसको आधारमा जिल्ला प्रशासनको सिफारिसमा आवासको सेफ हाउसमा राख्ने तयारी भइरहेको छ ।
बुबाको आत्महत्यापछि परिवारको बिचल्ली
डेढ वर्षअघि आफ्ना बाबुले आत्महत्या भएपछि परिवार बिचल्लीमा परेको बालिकाको भनाइ छ । उनका अनुसार बुवा भेडाबाख्रा बिक्रीवितरण गर्ने व्यापार गर्थे ।
गाउँघरबाट भेडाबाख्रा खरिद गरेर जुम्लाको सदरमुकाम खलंगामा ल्याएर बिक्रीवितरण गर्दै आएका थिए । डेढ वर्षअघि मासु काट्ने व्यापारीले भेडाबाख्रा लिएका थिए । पछि पैसा नै नदिएर मासु काट्ने व्यापारी भागेपछि गाउँघरको ऋण तिर्न नसकेर बुवाले आत्महत्या गरेको ती बालिकाको भनाइ छ ।
‘बुवाले भेडाबाख्रा खरिदका लागि लिएको ऋण तिर्न सक्ने अवस्था छैन । अहिले साहुँले धाइरहेका छन् । यस्तै अवस्थाले गर्दा आमा डिप्रेसनमा पर्नुभएको छ,’ बालिकाले भनिन्, ‘तीनजना भाइबहिनी छन् । भाइबहिनीले शिक्षा पाएका छैनन् । घरमा खान त पुग्दैन, कसरी पढ्नु, मेरो अवस्था यस्तो छ । त्यसैले हामी जीवनरक्षाको खोजीमा छौँ ।’